कञ्चनपुरको पुनर्वासमा मौसम पूर्वानुमानमा आधारित पूर्वतयारी तथा पूर्वकार्य अभ्यास (टेबलटप सिमुलेसन) सम्पन्न भएको छ। मर्सीक्रप्स नेपाल, कोकाकोला फाउन्डेसन र नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) को साझेदारीमा सञ्चालित सान परियोजना अन्तर्गत आयोजित उक्त कार्यक्रम पुनर्वास नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रम पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मनसुनको समयमा देखिन सक्ने सम्भावित जोखिम तथा विपद्‌ व्यवस्थापन सम्बन्धी पूर्वतयारीको प्रभावकारिता परीक्षण गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरूले यस्ता कार्यक्रमहरु बाट हामीले हाम्रा संयन्त्रहरू तयारी अवस्थामा छन् कि छैनन् भन्ने मूल्याङ्कन गर्न सकिने बताउनुभयो । यो अभ्यासले सुधार गर्नुपर्ने पक्षहरू प्रस्ट पार्न मद्दत पुर्‍याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले पूर्वतयारी र पूर्वकार्य बिपद् जोखिम न्युनिकरणमा महत्वपूर्ण अनि बताउँदै यसले सम्भावित जोखिमहरूलाई समयमै व्यवस्थापन गर्न सहयोग पुर्‍याउने बताउनुभयो । पूर्वानुमान र पूर्वकार्यले ठूलो क्षतिलाई पनि कम लगानीमै न्यूनीकरण गर्न सक्ने उहाँ बताउनुहुन्छ ।

मर्सी क्रप्स नेपालका सिनियर प्रोग्राम कोर्डिनेटर मनिष ढुंगेलले दोदा नदीको सन्दर्भमा जोखिमका सूचकहरू कसरी निर्धारण गर्न सकिन्छ भन्ने विषयमा आजको कार्यक्रमबाट महत्वपूर्ण अवधारणा प्राप्त भएको विश्वास व्यक्त गर्नुभयो । सान परियोजनाका संयोजक देवराज बडुले सहकार्य र समन्वयबाट विपद् व्यवस्थापनको प्रभावकारिता बढाउन सकिने बताउनुभयो । उहाँले पूर्वतयारीका लागि सबैजना एक ढिक्का भएर जान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

 

कार्यक्रम मार्फत नगरपालिका र सरोकारवाला निकायहरूका बीचको समन्वय, पूर्वचेतावनी प्रणालीको अभ्यास, र दीर्घकालीन पूर्वतयारी योजनामा आधारित कदमहरूलाई थप सशक्त बनाउने प्रयास गरिएको थियो ।