कञ्चनपुरको पुनर्वास नगरपालिका वार्ड नं १० दोदा पुल देखि वार्ड नम्बर ५ कम्पनी डाँडा जोड्ने लोकतान्त्रिक सडकको (आर सी सी कंक्रीड सडक ) काम छिट्टै सुरु हुने भएको छ । बिहिबार एक कार्यक्रमका बीच सो क्षेत्रको साइड निरीक्षण सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश विधायन तथा मामिला समितिका सभापति दिवान सिंह बिष्ट, पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका ईन्जिनियर हेमराज भट्ट, निर्माण व्यवसायी, र स्थानीयको सहभागितामा काम सुरु हुने क्षेत्रको निरीक्षण कार्य सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको अन्तर्गत पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत लोकतान्त्रिक सडकको काम सुरु हुन लागेको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका ईन्जिनियर हेमराज भट्टले जानकारी दिनुभयो ।उहाँले पहिलो चरणमा ८३४ मिटर लम्बाई ७ मिटर चौडाइ सहितको आर सी सी कंक्रीड सडकको निर्माण छिट्टै सुरु हुने बताउनुभयो । ३ करोड ९९ लाख ९९ हजार ३८९ रुपैयाँको इस्टिमेट रकम रहेको बताउँदै २ करोड ९३ लाख १९ हजार ८३८ रुपैया ७८ पैसामा (भ्याट सहित) सम्झौता भएको उहाँले बताउनुभयो ।

सडक निर्माणका लागि रामेछाप दाउत जेबीले ठेक्का पाएको छ । निर्माण व्यवसायी रामेछाप दाउत जेबीका प्रतिनिधि दाउत तामाङले २०८२ असार २२ गते ठेक्का सम्झौता भइ २०८३ असार मसान्त भित्र काम सक्ने जानकारी दिनुभयो ।

 

पुनर्वास नगरपालिकाको प्रमुख योजनाको रुपमा रहेको र वर्षौंदेखि अधुरो रहेको योजना बन्ने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । सो क्षेत्रको निरीक्षण पश्चात पुनर्वास नगरपालिकाको नगर प्रमुख तोयप्रसाद शर्माले पालिकाकै मेरुदण्डको रूपमा रहेको लोकतान्त्रिक सडक निर्माण अब छिट्टै सुरु हुने बताउनुभयो । पहिलो चरणमा (आर सी सी कंक्रीड सडक ) को काम सुरु हुने बताउनुभयो । यसै वर्ष मात्रै लोकतान्त्रिक सडकका लागि प्रदेश सरकारको ४ करोड, संघीय सरकार अन्तर्गत ३ करोड रकम विनियोजन भइसकेको उहाँले जानकारी दिनुभयो । साथै नगरपालिकाले पनि 1 करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । यस वर्ष ८ करोड रकमको काम हुने र बाँकी ८ करोडको काम अर्को वर्षको निरन्तरतामा गरिने उहाँले बताउनु भयो ।