कञ्चनपुरको पुनर्वासमा पछिल्लो समय फैलिएको डेंगु नियन्त्रणका लागि पालिकाले लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।

नगरपालिकाको आयोजनामा स्थानीय समुदाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी क्लवका प्रतिनिधि लगायतको सहभागितामा डेंगु रोग फैलाउने एडिस एजिप्टाई जातको लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गरिएको छ । सो अभियान अन्तर्गत सहभागीहरूले पानी जम्ने स्थान, गमलाका भाँडाहरु, टायर, ट्यांकी र अन्य सम्भावित क्षेत्रहरूमा खोजी गरी सरसफाई गरेको पुनर्वास नगरपालिकाका जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समय पुनर्वास नगरपालिका वडा नम्बर ४ को कोटीहोम क्षेत्र, वडा नंम्बर २ को अरनिको वस्ती क्षेत्रमा डेङ्गुका बिरामीहरू बढ्दै गएपछि सो अभियान गरिएको उहाँले जानकारी दिनुभयो ।  लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान मार्फत डेंगु रोगको संक्रमणलाई न्यूनीकरण गर्न र समुदायलाई सचेत बनाउन पालिका संगै स्थानीयको पनी साथ सहयोग आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले बताउनुभयो । उहाँले यस्ता खालका अभियानहरू पालिकाभरि नै गर्नुपर्नेमा जोड दिनुभयो ।

डेङ्गु संक्रमण तीव्र रूपमा फैलिँदै गएपछि प्रभावित वडाहरूमा डेङ्गु नियन्त्रण तथा जनचेतना सम्बन्धी सशक्त कार्यक्रम सञ्चालन गर्न नगर प्रमुख तोयप्रसाद शर्मा र उप–प्रमुख भुलिया रानाको निर्देशन अनुसार मंगलबार पुनर्वास २ को अरनिको वस्ती क्षेत्रमा लार्भा खोज तथा नष्ट गर्ने कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको नेतृत्व जनस्वास्थ्य अधिकृत यज्ञ खड्काले गर्नुभएको थियो भने कार्यक्रमको संयोजक स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामी रहनुभएको थियो । कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रतीनिधि, वडा स्वास्थ्य संस्थाका प्रतीनिधि, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेबिकाहरु, अरनिको र सरस्वती युवा क्लबका प्रतीनिधि, लगायत स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।