कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ स्थित डोकेबजार क्षेत्र दुर्गन्धित भएको भन्दै सो क्षेत्रका युवाहरू आक्रोशित बनेका छन् । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । उनीहरूले एकहप्ता भित्र फोहोर व्यवस्थापन नगरे पालिकाको अगाडी फोहोर फ्याक्ने भन्दै चेतावनी समेत दिएका छन् ।

पुनर्वास ११ डोकेबाजार बस्दै आएका सामाजिक अभियान्ता समियुल न्यौपाने डोके बाजार क्षेत्रको फोहोर देखाउँदै फेसबुकमा यस्तो लेख्नु हुन्छ, ” डोकेबजारको यो फोहर एक हप्ता भित्र व्यवस्थापन भएन भने मेयर सावको कार्यलयमा पुऱ्याउन बाध्य हुनेछौं ।”

यस्तै न्यौपानेको सोही स्टाटसमा यस्तो लेखिएको छ “हामीले पटक पटक सरसफाइको अभियान संचालन गरेका छौं, दुई हप्ता अघि मात्र करिब तीन सय युवाहरू उतारेर बृहत सरसफाइ कार्यक्रम गरेको सबैलाई जानकारि नै छ । तर आज फेरि अवस्था त्यस्तै । अब फोहोर होइन नगरपालिकाको सोचलाई सफाई गर्न आवश्यक छ | #EnoughIsEnough

यस्तै पुनर्वास ११ डोकेबाजार बस्दै आएका अर्का युवा प्रदीप थापा मगर पनि आफ्नो फेसबुकमा व्यङ्ग्य गर्दै यस्तो लेख्नु हुन्छ, “कञ्चनपुर पुनर्वास वडा नम्बर ११ मा पर्ने पुनर्वासकै मुटु भनेर चिनिने डोके बजार, अब के आशिका तामाङ आएर मात्र सफा हुन्छ त ? डोके बजार ” ।

पछिल्लो समय डोकेबजार क्षेत्रको फोहोर व्यवसथापन पालिकाको लागि एउटा चुनौति नै बनेको छ । पुनर्वास ११ का तुलसी अर्यालले डोकेबाजारका व्यापारीहरुलाई फोहोर जथाभावी नफ्याक्न आग्रह गरेको भएपनि नटेरेको बताउनुभयो । उहाँले फोहर व्यवस्थापनमा पसल सञ्चालकहरुले चाहे घरबाट नै फोहोर कम गर्न सक्ने बताउनुभयो । कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरेर राख्न समेत आग्रह गर्नु भयो । दसगजाक्षेत्र भएकाले पनि फोहर व्यवस्थापन गर्न समस्या भएको उहाँको तर्क छ ।