कंचनपुरको बेलौरीमा रहेको नेवाः देय् दबू बेलौरी नगर कार्य समितिको आयोजनामा नेपाल संवत ११४६ को पूर्व सन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिकाको प्रर्वद्धनमा “भाषा संस्कृति सम्पदा पुर्खाया पौरख नेपाल संवत राष्ट्रिय गौरव” भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले नेपाल विविध जातजाति र संस्कृतिको साझा फूलबारी भएको बताउँदै संस्कृति संरक्षणका लागि गरिने हरेक प्रयासमा नगरपालिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले सबै धर्म र संस्कृतिलाई समान सम्मानका साथ अघि बढाउने नगरपालिकाको नीति रहेको बताउँदै सीमित बजेटका कारण पर्याप्त रकम विनियोजन गर्न नसकिएको भए पनि संरक्षणमा नगरपालिकाको साथ रहने बताउनुभयो ।

नेपाल संवत ११४६ को अवसरमा शुभकामना मन्तव्य राख्दै नेवाः देय् दबू कञ्चनपुरका जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल संवत हाम्रो गौरव, पहिचान र अस्तित्वसँग जोडिएको ऐतिहासिक संवत हो । यो संवतका संस्थापक संखुवाधर शाक्यले सत्य, श्रम र इमानदारीको बलमा समाजलाई न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरित गरेको बताउँदै सुदुर पश्चिम प्रदेश सरकारको सहयोगमा यस वर्ष मन्दिर परिसरमा घेराबार निर्माण र संखुवाधर शाक्यको मूर्ति स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो।

कार्यक्रमको समापनमा नेवाः देय् दबू बेलौरी नगर कार्य समितिका अध्यक्ष सुरज श्रेष्ठले उपस्थित सबै अतिथिलाई धन्यवाद ज्ञापन गर्दै नेपाल संवतले भाइचाराको सन्देश दिने बताउनुभयो ।

कार्यक्रमको सभापतित्व नेवाः देय् दबू बेलौरी नगर कार्य समितिका अध्यक्ष सुरज श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथिको रूपमा बेलौरी नगरपालिकाकाका नगर प्रमुख पोतिलाल चौधरी रहनुभएको थियो। यस्तै विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, नेवाः दबू केन्द्रिय कार्य समिति सदस्य पुनम श्रेष्ठ, नेवाः देय् दबू कञ्चनपुर जिल्ला कार्य समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, नेवाः देय् दबू सुदुर पश्चिम कार्य समितिका सचिव भीम श्रेष्ठ रहनुभएको थियो । अतिथिमा आदिवासी जनजाति नगर समन्वय परिषद् बेलौरीका अध्यक्ष कृष्ण चौधरी, नेवाः देय् दबू पुनर्वास नगर कार्य समितिका अध्यक्ष तिल कुमार श्रेष्ठ, नेवाः देय् दबू सुदुर पश्चिम कार्य समितिका निवर्तमान उपाध्यक्ष विजया लक्ष्मी श्रेष्ठ लगायत स्थानिय सञ्चारकर्मीको सहभागिता रहेको छ।

कार्यक्रममा नेवारी पहिचान झल्किने सांस्कृतिक कार्यक्रमको साथै नेवारी खानपिन समेत गरिएको थियो। कार्यक्रमको सहजीकरण मिरा श्रेष्ठले गर्नुभएको थियो।