कञ्चनपुरको पुनर्वास ११ अमर बस्तीमा रहेको अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहको १८ औं साधारण सभा सम्पन्न भएको छ । वनका अध्यक्ष मान बहादुर थापाको अध्यक्षता र पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको  थियो ।


सामुदायिक वनले साधारण सभा मार्फत आर्थिक बर्ष २०८१/८२ मा झण्डै ३१ लाख बराबरको आयब्याय प्रस्तुत गरेको थियो । वनले ३० लाख ९६ हजार ५ सय ७० रुपैया बराबरको आयब्यय प्रस्तुत गरेको श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनुभयो । यस्तै श्री अमर गोकुल सामुदायिक वन उपभोत्ता समुहले आर्थिक बर्ष २०८२/८३ मा  ६० लाख ८० हजार ४ सय ७३ रुपैयाको आनुमानित आयव्य प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै समूहको साधारण सभा चाडपर्व जस्तै रहेको बताउनुभयो ।  श्री अमर गोकुल सामुदायिक वन उपभोक्ता समूह यस क्षेत्रकै सबैभन्दा पुरानो सामुदायिक वन रहेको बताउँदै पहिलेदेखि नै व्यवस्थित र विधिपूर्वक तरिकाले अगाडि बढिरहेको जानकारी दिनुभयो ।


समुदायिक वन आफैमा पनि एउटा चुनौती र अवसरको विषय भएको बताउँदै  उहाँले उपभोक्ता सदस्यहरूको मागमा आधारित रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयले पनि वनप्रति अपनत्वको भावना राख्नुपर्ने बताउँदै समूहका सदस्यहरूले मात्रै वन संरक्षण गर्न नसक्ने उहाँले  बताउनुभयो । अहिलेको अवस्थामा अमर गोकुल समुदायक वन अन्य सामुदायिक वनहरूभन्दा  एक तह  माथि रहेको बताउनुभयो ।


साधारण सभामा बोल्दै पुनर्वास ११ का वडाध्यक्ष तुलसी अर्यालले  गत बर्षका कामको समिक्षा गर्दै आगामी बर्षको योजना निर्माणमा समूहले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सामुदायिक वनमा धेरै नै सुधार हुँदै गएको बताउनुभयो । पहिले भएका कमीकमजोरीहरूलाई सुधार गर्दै समूह अघि बढेकोप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । वनले समुदाय स्तरमा कार्यक्रमहरू गर्दा वडा मार्फत गर्न सुझाव दिनुभयो ।

साधारण सभामा ६८ वर्ष उमेरमाथिका झण्डै ५० जना वृद्धवृद्धाहरूलाई सम्मान समेत गरिएको थियो । साधारण सभामा कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रतिनिधि, वन सरक्षणकर्मी, प्रहरी, पत्रकार, उपभोक्ता समुह, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समूहका सचिव सोमबहादुर बानियाले गर्नुभएको थियो।