कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा रहेको आधारभूत वडा स्वास्थ्य केन्द्रमा मङ्सिर १ अर्थात् सोमबारदेखि बर्थिङ सेन्टर सुरु गर्ने तयारी भएको थियो ।

संयोगवस कार्तिक ३० गतेको राति सकिँदो मङ्सिर १ लाग्दो बिहानको १ बजेतिर वडा स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी चन्द्रा न्यौपानेको फोनमा घन्टी बज्छ ।

उठाउन नपाउँदै, म्याडम हामीलाई एम्बुलेन्स चाहिएको छ, नम्बर दिनुस् न भन्ने आवाज सुनिन्छ । उहाँको जवाफ हुन्छ किन ? केका लागि ? के भयो र ? उताबाट जवाफ आउँछ डेलिभरी गराउन धनगढी जानुपर्ने भयो ।

अनि चन्द्रा न्यौपाने भन्नुहुन्छ : आत्तिनु पर्दैन, हाम्रै वडा स्वास्थ्य केन्द्रमा सम्पूर्ण तयारी भइसकेको छ। आजैबाट हामीले बर्थिङ सेन्टरको उद्घाटन गर्ने तयारी गरिसकेका छौं, तपाईं ढुक्क भएर वडा स्वास्थ्य केन्द्र आउनुस् न ।

रातिको २ बजे सुनसान समयमा एक्लै घरबाट चन्द्रा न्यौपाने र कार्यालय सहयोगी पार्वती खत्री वडा स्वास्थ्य केन्द्र पुग्छन् । सबै तयारी भइसकेकाले त्यति धेरै काम गर्नुपर्ने अवस्था थिएन, गाउँमै अटो खोजेर गर्भवतीलाई लाई लिन पठाउँछन् अनि केही समयपछि गर्भवती महिला र उहाँको श्रीमान त्यहाँ पुग्नुहुन्छ ।

त्यतिबेलासम्म बिहानको ३ बजेर ३३ मिनेट गइसकेको थियो। सोही समयमा सुरक्षित डेलिभरी सहित ३ किलो १० ग्रामको छोरीको जन्म हुन्छ ।  आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएसँगै यतिबेला मायानाथको परिवारमा हर्षोल्लास आएको छ। रातिको समयमा आफ्नै ठाउँमा सेवा लिन पाउँदा उहाँहरूले खुसी व्यक्त गर्नुभएको छ । उहाँले उपचारमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्दै आपत्कालीन अवस्थामा नजिकैको वडा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।

आधारभूत वडा स्वास्थ्य केन्द्र, वडा स्वास्थ्य केन्द्र कार्यरत सिनियर अनमी चन्द्रा न्यौपाने, कार्यालय सहयोगी पार्वती खत्री र उद्घाटन अगावै विश्वास गरेर सुरक्षित डेलिभरीका लागि वडा स्वास्थ्य केन्द्र पुग्नहुने पुनर्वास ११ निवासी माया नाथ र उहाँको परिवार र पुनर्वास नगरपालिका स्वास्थ्य शाखा परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।