डोटी जिल्लाको आदर्श गाउँपालिकामा BMZ / AWO International को आर्थिक सहयोगमा NEEDS Nepal द्वारा सुरक्षित श्रम आप्रवसन प्रवद्र्धन परियोजना सञ्चालनमा छ । डोटीको आदर्श गाउँपालिकामा यो परियोजना सुरु भएको झण्डै ६ वर्ष पुगिसकेको छ । यस परियोजना मार्फत डोटीको आदर्श गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर हामीले केही विशेष सामग्रीहरु तयार पारेका छौं । तर त्यो भन्दा पहिले यस परियोजनाले आदर्श गाउँपालिकामा के के गरिरहेको छ त्यो जानकारी गराउँदछौँ ।

डोटीको आदर्श गाउँपालिकामा यस परियोजना अन्तर्गत अहिले टोल स्तरमा ४० वटा आप्रवासी महिला समूह गठन भएको छ । यस्तै सातवटा युवा सशक्तिकरण समूह वडा स्तरमा गठन भएको छ । योसँगै पालिका स्तरीय आप्रवासी सञ्जाल गठन पनि यस परियोजना अन्तर्गत भएका छन् । यस परियोजना अन्तर्गत तीन ठाउँमा आप्रवासी सूचना केन्द्र अर्थात् एमआइसी सेन्टर स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय डोटी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत महेन्द्रनगर बसपार्कमा समेत आप्रवासी सूचना केन्द्र स्थापना गरिएको यस परियोजनाका आदर्श गाउँपालिका प्रमुख शैलेन्द्र जोशीले जानकारी दिनुभयो ।

यसरी गठन भएका विभिन्न समूह सञ्जालहरुले मासिक बैठक बस्ने र बचत गर्ने उद्यमशीलता विकासमा काम गर्ने आप्रवासन सम्बन्धी जनचेतनामूलक कार्यहरू गर्दै आइरहेको छन् । सँगसँगै समाजमा देखिएका विभिन्न सामाजिक समस्याहरूमा छलफल र ती समस्या न्यूनीकरणका लागि गर्नसक्ने कामहरू समेत यही समूह मार्फत हुँदै आइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै आप्रवासीका समस्यालाई वडास्तरमा छलफल गर्ने ज्ञापनपत्र बुझाउने, विपदको समयमा परिचालन हुने, विशेषगरी भारतमुखी आप्रवासनका लागि देखिएका समस्याहरू न्यूनीकरणमा पहल गर्ने काम वडा स्तरमा गठन भएको युवा सशक्तिकरण समूहले गर्ने गरेको छ ।

योसँगै पालिकामा परियोजना सञ्चालन भएपछि स्थानीय महिलाहरूलाई सिलाई कटाई तालिम सँगै मेसिन हस्तान्तरण गरिएको छ । यो सँगै बाख्रापालन तालिम सँगै जीविकोपार्जनका लागि उन्नत जातका बोका तथा बाख्रा वितरण, बंगुर पालन तालिम सँगै बंगुर वितरण गरिएको छ । तरकारी खेतीका लागि बिउ बिजन र बाली नभित्राउन्जेल सम्म गर्नुपर्ने सम्पूर्ण सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो । खेतिपाती र सिँचाइका लागि खानेपानी ट्याङ्की निर्माण, सिंचाई पोखरी तथा कुलो निर्माण सँगै विभिन्न ठाउँमा धारा निर्माण समेत यस परियोजना अन्तर्गत भइरहेको उहाँले जानकारी दिनुभयो ।

युवाहरूलाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न खाजा नास्ता बनाउने तालिम, विद्युत वाईरिङ, मोटर साईकल मर्मत तालिम, दिनुका साथै पसल तथा होटल सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गरिएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै वडास्तरमा गठन भएका समूहहरूलाई आप्रवासन सम्बन्धी जानकारीहरू, मसलाबाली तथा सामूहिक तरकारी खेती तर्फ पनि यस परियोजनाले जोड दिएको छ । गाउँघरमा भएका एकल महिला, किशोरी, लगायत महिला उद्दमशीलतालाई ध्यानमा राख्दै भारत गएका आफ्ना श्रीमानलाई समेत फिर्ता बोलाउन विभिन्न किसिमका कार्यक्रममा जोड दिएको उहाँले जानकारी दिनुभयो ।

सुरक्षित श्रम आप्रवासन प्रवद्र्धन परियोजना लागू भइसकेपछि अहिले यस क्षेत्रमा महिलाहरूको दैनिकीमा समेत सुधार भएको छ। अब बैंकिङ कारोबार गर्नुपर्छ भन्ने क्षमता वृद्धि, भारत तथा अन्य ठाउँमा जाँदा अपनाउनुपर्ने सुरक्षा र आवश्यक पर्ने कागजातका विषयमा पनि यस क्षेत्रका नागरिकहरू सजक बनेका छन्। कतिले त यसै परियोजना मार्फत विभिन्न तालिमहरू लिएर आफूलाई गाउँमै उद्यमी युवाको रुपमा चिनाएका छन् ।

परियोजनाका कार्यहरूमा गाउँपालिकाले समेत सहायोग गर्दै आएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले जानकारी दिनुभयो । उहाँले स्थानीय स्तमा परियोजनाले धेरै नै राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।