कञ्चनपुरको पुनर्वास ३ आई. बि.आर. डीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड कालिकामा लगाइएको ताला दुई बुदे सहमति पश्चात आइतबार खुलाइएको छ ।

१७ गते विविध कारण देखाउँदै असन्तुष्टि पक्षले ताला लागाईएको थियो । साना किसान सहकारीको क्षेत्रभन्दा बाहिर रहेको भन्दै सदस्यहरूलाई निकालिएको, सल्लाहकार समितिलाई अपदस्त गरिएको र विगतका दिनमा दिँदै आएको विभिन्न शीर्षकका भत्ताहरु खारेजी गरिएको भन्दै ताला लगाइएको सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार समिति संयोजक श्रीमाया गुरुङले बताउनु भयो ।

आइतबार भएको सहमति अनुसार सहकारीले कार्यक्षेत्र भन्दा बाहिरका सेयर सदस्यहरूलाई साधारण सभामा विनियम संशोधन गरी स्वीकृतिका लागि पुनर्वास नगरपालिकामा पठाउने र हाल बनेका सेयर सदस्यहरुलाई यथावत राख्ने निर्णय गरेको सहकारीले जनाएको छ ।

यस्तै सञ्चालक समिति खारेजीको माग र बैठक भत्ता सम्बन्धमा साना किसान कृषि सहकारी संस्थाको साधारण सभामा प्रस्ताव पेश गर्ने र साधारण सभाले निर्णय गरे बमोजिम कार्यान्वयन गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ ।

यता सहकारीका सल्लाहकार समितिलाई विनियम बमोजिम कार्यान्वयन गर्ने निर्णय पास गरिएको छ । साधारण सभाको स्थान सञ्चालक समितिको निर्णयअनुसार सम्पूर्ण शेयर सदस्यलाई जानकारी गराउने निर्णय सर्वसम्मतबाट पारित भएको छ।

साथै सल्लाहकार समितिलाई पुनर्बहाली गर्ने निर्णय सर्वसम्मत पास गरिएको छ ।

सर्वपक्षीय छलफल मार्फत तालाखोली काम आजैबाट सुरु भएको सहकारीले जनाएको छ। छलफल कार्यक्रममा पुनर्वास नगरपालिकाका सहकारी शाखा प्रमुख धौलाराम सार्की, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड अतरियाका शाखा प्रबन्धक हिक्मत बहादुर बम, साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवन बस्तीको अध्यक्ष दिना निरौला, पुनर्वास नगरपालिका कार्यपालिका सदस्य शान्ति तामाङ, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी प्रतिनिधि, सेयर सदस्य तथा सञ्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।