कञ्चनपुरको लालझाडी- १ मा रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा एकदिने वित्तीय साक्षरता तथा कृषि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सभापतित्व आरम्भ चौतारी लघुवित्तीय संस्था लिमिटेड जोशीपुर स्टेसनका कार्यक्रम अधिकृत दीपक बहादुर बोहराले गर्नुभएको थियो । भने कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिका–१ का वडा अध्यक्ष प्यारेलाल राना रहनुभएको थियो ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष रानाले ग्रामीण भेगमा वित्तीय साक्षरता अत्यन्तै आवश्यक रहेको बताउनुभयो। यस्तै लघुवित्त संस्थाले सञ्चालन गर्दै आएको यस्तो कार्यक्रमले समुदायको आर्थिक हिफाजत तथा आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै कार्यक्रम अधिकृत दीपक बहादुर बोहराले वित्तीय साक्षरताका मुख्य विषयवस्तु, जस्तै बचतको आवश्यकता, कर्जाको समुचीत प्रयोग, घरायसी बजेट व्यवस्थापन, आर्थिक जोखिमबाट जोगिने तरिका, डिजिटल वित्तीय सेवाको महत्वबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत धर्म साउदले स्थानीय कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आधुनिक खेती प्रविधि, कीरारोग व्यवस्थापन तथा आयमुखी कृषिले आर्थिक सबलीकरणमा पुर्याउने प्रभावबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा लालझाडीकी प्रमुख यशोदा थापाले गर्नुभएको थियो । प्रशिक्षणमा स्थानीय महिलाहरु, कृषक समूहका प्रतिनिधि तथा लघुवित्त सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।