नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा युवा नेता मदन राज उपाध्यायले जनतासँग प्रत्यक्ष संवाद गर्दै समाज बुझ्ने उद्देश्य सहित कञ्चनपुर क्षेत्र नम्वर १ मा रहेको चार पालिकाका ३२ वडामा पैदल यात्रा शुरू गरेका छन् । पुनर्वास नगरपालिका ११ स्थित डोकेबजारमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत उपाध्यायले जेन–जी आन्दोलन पछिको बद्लिँदो राजनीतिक र मनोसामाजिक अवस्थालाई आत्मसात गर्दै आशा, सम्भावना र समाधान खोज्ने अभियानका रूपमा पैदल यात्राको सुरुवात गर्नुभएको हो ।

उहाँले जनताको घर–आँगनमै पुगेर आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, कृषि तथा सांस्कृतिक अवस्थाको यथार्थ बुझ्ने र त्यसबाट सिकेका पाठलाई आफ्नो राजनीतिक यात्रामा लागू गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पैदल यात्राका क्रममा किसान, श्रमिक, शिक्षक, बुद्धिजीवी, महिला, जेष्ठ नागरिक, युवा तथा सीमान्तकृत समुदायसँग भेट गर्ने बताउनु भयो ।

उहाँले कञ्चनपुर क्षेत्र नम्बर १ लाई कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको हव बनाउने लक्ष्य सहित काम गर्ने बताउनुभयो । पैदल यात्रा कुनै पद, प्रभाव वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको जीवन, समस्या र समाधान खोज्ने पवित्र अभियान भएको उहाँले बताउनुुभयो ।