कञ्चनपुरको पुनर्वास ११, अमरबस्ती स्थित अमर गोकुल सामुदायिक वन उपभोक्ता समूहले अत्याधिक चिसो संगै शितलहर हुन थालेपछी चिसोबाट बच्न निःशुल्क दाउरा वितरण गरेको छ ।

बढ्दो चिसो, जाडोयाम तथा शीतलहरको प्रभावबाट सर्वसाधारणलाई सुरक्षित राख्न अमर गोकुल सामुदायिक वनले आफ्ना उपभोक्ताहरूका लागी निःशुल्क दाउरा वितरण गरेको समूहका अध्यक्ष मान बहादुर थापाले जानकारी दिनुभयो । समूहले चोक–चौराहामा आगो बालेर ताप्न आवश्यक दाउरा उपलब्ध गराउँदै आएको छ । दाउरा आवश्यक पर्ने टोल तथा उपभोक्ताहरूले समूहको कार्यालयमा सम्पर्क गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

समूहका अनुसार सडागला, धोता तथा जरा लगायतका दाउरा उपलब्ध गराइने समुहको उपाध्यक्ष उत्तरा धामीले बताउनुभयो । उहाँले हालसम्म प्रहरी चौकी डोकेबजार, सशस्त्र प्रहरी क्याम्प बिओपी टाकेबजार र दोधामा समेत दाउरा बितरण गरीएको जानकारी दिनुभयो । साथै शान्ति टोल, बौद्ध टोल, शिवालय टोल, अम्मर टोल, चौकी डाँडा र टाउके बजार लगायतका क्षेत्रमा दाउरा वितरण गरि सकेको समुहको उपाध्यक्ष धामीले बताउनुभयो ।

समूहले केही अन्य टोलहरूमा पनि छिट्टै दाउरा वितरण गर्ने जनाएको छ । त्यसका लागि सम्बन्धित टोलका स्थानीयले समयमै कार्यलयमा सम्पर्क गरी सङ्कलन गर्नुपर्ने समूहका सचिब सोम बहादुर बाँनियाले जानकारी दिनुभयो । दाउरा सङ्कलनका लागि टोल–टोलबाट संयुक्त रूपमा उपस्थित हुनुपर्ने र सङ्कलनको व्यवस्थापन सम्बन्धित टोलले आफैं गर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

यसरी दाउरा बितरण गर्दा चिसो मौसममा विपन्न तथा सर्वसाधारणलाई राहत मिल्ने स्थानीयले अपेक्षा लिएको छन् ।