नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले सञ्चारकर्मी तथा सञ्चारमाध्यम सम्बन्धी पछिल्लो समय भइरहेको टिप्पणी र अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले एक विज्ञप्ति जारी गर्दै कुनै पत्रकार वा सञ्चारमाध्यमले अराजक, उच्छृङ्खल वा आचारसंहिता विरुद्धको कार्य गरेको भए प्रमाणसहित सम्बन्धित निकाय तथा प्रेस काउन्सिलमा निवेदन दिएर कानूनी प्रक्रिया अगाडि बढाउन सबैलाई अनुरोध गरेको छ । प्रमाण विहीन टिप्पणीले सम्पूर्ण पेशालाई बदनाम गर्ने भएकाले त्यस्ता टिप्पणी नगर्न पनि महासंघले आग्रह गरेको छ ।

महासंघले प्रेस विज्ञप्ति जारी गर्दै स्वच्छ, जिम्मेवार र मर्यादित पत्रकारिता पेशालाई सदैव सम्मान र समर्थन गर्ने स्पष्ट गरेको छ तर, पेशाको आडमा गलत गतिविधि, धम्की, अनैतिक व्यवहार तथा पत्रकारिता आचारसंहिता विरुद्धका गतिविधिहरू हुनु गम्भीर आपत्ति जनाइएको छ। महासंघले यस्तो गतिविधिले सबै पत्रकार तथा सञ्चारमाध्यमहरूको प्रतिष्ठा र पेशालाई नै बदनाम गरी अराजकता र अपमानजनक स्थिति पैदा गर्ने जनाएको छ ।

महासंघले व्यक्तिगत स्वार्थ, मनगढन्ते आरोप वा रोजगारजन्य तत्वलाई पत्रकारिता पेशासँग जोड्नु उचित नभएको स्पष्ट पार्दै, लोकतान्त्रिक समाजमा आलोचना गर्नु अधिकार भएपनि असभ्य र छाडा अभिव्यक्ति कसैको अधिकार नभएको उल्लेख गरेको छ ।

सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पत्रकारिता आचारसंहिता कडाइका साथ पालन गर्न र पेशागत मर्यादा कायम राख्न महासंघले सबै पत्रकारहरूलाई आग्रह गरेको छ।