कञ्चनपुरको पुनर्वासमा विपद् जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले विपद् जोखिम व्यवस्थापनका लागि निर्णय सहयोग प्रणाली (Decision Support System–DSS) को विकास तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (SAAN) परियोजना अन्तर्गत आयोजना गरिएको हो ।

निर्णय सहयोग प्रणाली (DSS) एक प्रविधिमा आधारित प्रणाली हो, जसले डाटा, पूर्वानुमान, विश्लेषण र सूचनालाई एकीकृत गरी विपद् पूर्वतयारी, प्रतिक्रिया र पुनःस्थापनाका क्रममा निर्णय लिन सहयोग पुर्‍याउँछ। विशेषगरी बाढी, पहिरो, आगलागी, महामारी जस्ता सम्भावित विपद्का समयमा स्थानीय तहले समयमै सही निर्णय लिन DSS अत्यन्त उपयोगी हुने पुनर्वास नगरपालिकाका विपद् फोकल पर्सन ओम नाथ ढकालले बताउनुभयो ।

DDS ले स्थानीय तहमा पूर्वानुमानमा आधारित कार्य प्रणाली सुदृढ गर्नुका साथै विपद् जोखिम न्यूनीकरण गरी सरकारी, गैरसरकारी तथा समुदायबीच समन्वय मजबुत बनाउन काम गर्ने गर्दछ । सम्भावित क्षति न्यूनिकरणका लागि समयमै निर्णय प्रक्रिया सक्षम बनाउन समेत सहयोग पुग्ने उहाँले बताउनु भयो ।

निर्णय सहयोग प्रणाली (DSS) को विकास र प्रयोगले स्थानीय तहलाई डाटा आधारित, वैज्ञानिक र समयमै निर्णय लिन सक्षम बनाउनेछ। यस प्रकारका कार्यक्रमहरूले नेपालमा बढ्दो विपद् जोखिमलाई न्यूनिकरण गर्दै सुरक्षित र दिगो समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।