सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई देहायका शिक्षण तौरतरिकाको प्रयोग गरी अध्यापन गरेमा सिकाइमा सुधार आउन सक्छ :

 

(१) सकारात्मक व्यवहारको प्रशंसा गर्ने :  धन्यवाद, स्याबास, धेरै राम्रो, असल प्रयास जस्ता सकारात्मक पुनर्वलको प्रयोग गरि विद्यार्थीका सकारात्मक व्यवहारको प्रशंसा गरौ । साथै शिक्षकले अनपेक्षित व्यवहारलाई पुननिर्देशित गरी अपेक्षित व्यवहारमा केन्द्रित  गरौं ।

(२) क्रियाकलापमा समावेशीता कायम गर्ने :  कक्षा सञ्चालनको समयमा एउटै क्रियाकलाप र व्यवहार नगरी फरक-फरक प्रसङ्गका साथ उपस्थित होऔं ।

(३) विद्यार्थीलाई आफ्नो नजरबाट नछोड्ने :  शिक्षकले शिक्षणका क्रममा विद्यार्थीसङ्गको Eye Contact लाई बिशेष ध्यान दिऔं र विद्यार्थीको दायाँ बायाँ नजर गएको अवस्थामा तुरून्त सम्बन्धित विद्यार्थीको नामै तोकी आफूतिर तानौ ।

(४) अवलोकनलाई निरन्तरता दिने :  सबै विद्यार्थी दिइएको कार्यमा सहभागी र सक्रिय भएका छन् वा छैनन् भनि निरन्तर अवलोकन   गरौं ।

() उच्च अपेक्षा र समावेशी सिकाइ वातावरणको सिर्जना गर्ने :  शिक्षकले सबै विद्यार्थीलाई आदरपूर्वक व्यवहार गर्ने,विद्यार्थीका आवश्यकताहरुलाई सम्बोधन गर्ने, विद्यार्थीका प्रतिभा, नतिजा र क्षमताको मात्र नभई विद्यार्थीका प्रयासको पहिचान गरी प्रशंसा गर्ने, थप सिकाइ सामग्रीहरूलाई प्रभावकारी प्रयोग गर्ने, सबै विद्यार्थीलाई सिक्नका लागि कक्षाकोठामा भौतिक व्यवस्थापन गर्ने कार्यमा सक्रिय  बनौं ।

(६) प्रभावकारी र आकर्षक सिकाइ रणनीति अपनाउने :  देहायका रणनीतिहरू अपनाउँदा उपयुक्त हुन्छ :

  • शिक्षकले मुख्य सिकाइ उपलब्धिहरूलाई स्पष्ट रूपमा व्याख्या गर्ने र कक्षाकोठाका क्रियाकलापहरूलाई उपलब्धिहरूसँग सम्बन्धित गरी प्रष्ट पार्ने ।
  • एउटै पिरियडमा दुई वा सोभन्दा बढी विद्यार्थी केन्द्रित क्रियाकलाप मार्फत शिक्षण गर्ने ।
  • शिक्षकले पढाउने पाठलाई अन्य विषयवस्तुको ज्ञान वा विद्यार्थीहरूको दैनिक जीवनसँग जोड्ने प्रयास गर्ने ।
  • शिक्षकले विद्यार्थीहरूको बुझाइको स्तर सुनिश्चित गर्नप्रश्नोत्तर वा अन्य रणनीतिहरू अपनाउने ।
  • शिक्षकले खुला प्रश्नहरू सोध्ने ।

 (७) विद्यार्थीलाई प्रश्न निर्माण गर्न सक्षम बनाउने :  सामान्यतया कक्षामा शिक्षकले विद्यार्थीलाई प्रश्न सोध्ने गर्दछन् । तर यसको विपरित विषयवस्तुमा आधारित रही विद्यार्थीले प्रश्न बनाइ शिक्षकलाई सोध्ने र  शिक्षकले  सोको उत्तर दिने अभ्यासलाई पाइलटका रूपमा कार्यान्वयनमा लैजाऔं । यस्तो अभ्यासले विद्यार्थीलाई अध्ययनशील बनाउन प्रेरित  गर्दछ ।

(८) सिकाइको मूल्याङ्कन : यसका लागि निम्न कार्य गरौं :

  • शिक्षकले अधिकांश विद्यार्थीको व्यक्तिगत वा सामूहिक कार्यको अनुगमन गर्ने ।
  • शिक्षकले विद्यार्थीको स्तरअनुसारको शिक्षण गर्ने ।
  • शिक्षकले विद्यार्थीको गलत बुझाइलाई निर्देशित प्रश्न र अन्य तरिकाबाट स्पष्ट पार्ने ।

(९) फ्ल्पिड लर्निङ (Flipped Learning) लाई अनिवार्य गर्ने:   घरमा नयाँ विषयवस्तु सिक्ने र कक्षामा क्रियाकलाप गर्ने वातावरण बनाउन सकिएमा प्रभावकारी हुन सक्छ ।

लेखक: नबराज पाण्डेय (माध्यमिक तह, द्वितीय श्रेणी)
प्रधानाध्यापक : श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास-११,अमरबस्ती, कञ्चनपुर