कञ्चनपुरको पुनर्वास नगरपालिकाका १० र ११ का राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई ४ दिने पुनर्ताजगी तालिम दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा उक्त तालिम सम्पन्न भएको थियो । तालिममा १७ जना राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिती रहेको थियो ।

स्वयंसेविकाहरूलाई स्वास्थ्य सेवाको प्रभावकारिता र समुदायमा सुधार ल्याउनका लागि थप दक्ष र योग्य बनाउन तालिम दिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दिपेन्द्र रावले जानकारी दिनुभयो । तालिममा स्वास्थ्य सेवा र समुदायमा स्वयंसेविकाहरूको भूमिकाबारे आधारभूत ज्ञान र सीपहरूको बारेमा सिकाइएको उहाँले बताउनु भयो ।

तालिम मार्फत स्वयंसेविकाहरूलाई प्राथमिक स्वास्थ्य सेवाहरू, स्वास्थ्य शिक्षा र विविध जानकारी, गर्भावस्था र शिशु स्वास्थ्य लगायत सामुदायिक स्वास्थ्य निगरानीका विषयमा जानकारी गराईएको आधारभूत स्वास्थ्य केन्द्र पुनर्वास-११ का ईन्चार्ज हरीदत्त अवस्थीले जानकारी दिनुभयो । यस तालिम मार्फत स्वयंसेविकाहरूले समुदायमा स्वास्थ्य सेवाको स्तर सुधार्नका लागि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको उहाँले बताउनु भयो ।

तालिमको समापनमा बोल्नु हुँदै पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम बहादुर धामीले महिला स्वयंसेविकाको महत्व र उनीहरूको कार्यको प्रशंसा गर्नुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा स्वास्थ्य सेवाको स्तर सुधार गर्न प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चार दिनसम्म चलेको तालिममा सहजीकरण जनस्वास्थ्य निरीक्षक तेज प्रकास जोशीले गर्नु भएको थियो ।