प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनक सिंह धामी निर्वाचित हुनुभएको छ ।

 निर्वाचन अधिकृत दामोदर घिमिरेले सार्वजनिक गर्नुभएको अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धामीले २४ हजार ३३२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार बीना मगरले ११ हजार ११० मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्यायले ८ हजार ४६७ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का उम्मेदवार तारा लामा तामाङले ८ हजार ८८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल १ लाख १ हजार ७२४ मतदाता रहेका थिए । जसमध्ये ६१ हजार ७४ मत खसेको थियो ।