कञ्चनपुरको पुनर्वासमा वन व्यवस्थापन सम्बन्धी स्थलगत अभ्यास तथा झाडी सफाइ सम्वन्धीको तालीम सम्पन्न भएको छ । वन क्षेत्रको संरक्षण, व्यवस्थापन र सरसफाइको महत्वबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा तथा कुण्डा सब–डिभिजन वन कार्यालय कञ्चनपुरको संयोजनमा बिहिबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा वन व्यवस्थापनका व्यवहारिक पक्षहरूबारे स्थलमै अभ्यास गराइएको डिभिजन वन कार्यालय कञ्चनपुरको प्रमुख डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत भिम सामुदायीक वन क्षेत्रको केही भागमा स्थलगत रुपमा झाडी सफाइ समेत गरिएको थियो । सहभागीहरूले वन क्षेत्रको संरक्षण, जैविक विविधता जोगाउने उपाय, वन व्यवस्थापनका विधि तथा वन क्षेत्रलाई प्रदूषणमुक्त राख्ने विषयमा जानकारी दिइएको कुण्डा सब–डिभिजन वन कार्यालय पचकडीयाका प्रमुख बन अधिकृत दिनेश कुमार यादबले जानकारी दिनुभयो ।

स्थानीय, वन कार्यालयका कर्मचारी, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोलदै कुण्डा सब–डिभिजन वन कार्यालय पचकडीयाका प्रमुख बन अधिकृत दिनेश कुमार यादबले वन क्षेत्रको दीगो व्यवस्थापन र वातावरण संरक्षणका लागि यस्ता अभ्यासमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

वन क्षेत्र सफा राख्दै दीगो वन व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्ता कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।