कञ्चनपुरको पुनर्वास नगरपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । स्थानीय तहबाटै भूमि सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो । भू–सेवा केन्द्र पालिकामै सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई भूमि सम्बन्धी सेवा लिन मालपोत कार्यालय धाउनुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको नगर प्रमुख शर्माले बताउनुभयो ।

२०७७ सालपछि डिजिटल प्रणाली मार्फत बायोडाटा संकलन गरिएका लालपुर्जासँग सम्बन्धित कार्यहरू अब भू–सेवा केन्द्रमार्फत नै सम्पन्न हुने पालिकाका योजना शाखा प्रमुख तथा प्रशासकीय अधिकृत शंकर बोगटीले जानकारी दिनुभयो ।  यसैगरी आगामी दिनमा मालपोत सम्बन्धी विभिन्न कामहरू पनि पालिकाबाटै हुने व्यवस्था गरिने तयारी रहेको उहाँले बताउनुभयो । विशेष गरी पिन नम्बर कायम भएका जग्गाहरूको खरिद–बिक्री, सिङ्गो कित्ता भएका जग्गाको किनबेच लगायतका कार्यहरू भू–सेवा केन्द्र मार्फत हुने उहाँले जानकारी दिनुभयो।

भू–सेवा केन्द्र सञ्चालनमा आएसँगै स्थानीय स्तरमै छिटो, सहज र पारदर्शी रूपमा भूमि सम्बन्धी सेवा उपलब्ध हुने विश्वास गरिएको छ । भूमि सम्बन्धी सेवा नागरिकको नजिकै पुराउने लक्ष्यका साथ पहिलो चरणमा प्रदेशका तीन स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनमा आएका छन । तीमध्ये धनगढी उपमहानगरपालिका, लम्की–चुहा नगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन ।