“आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार” भन्ने नाराका साथ गरिबी निवारणका लागि सञ्चालन भइरहेको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुनर्वास नगरपालिकामा एक दिवसीय उद्यमशीलता तथा मेड मोडल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्नु हुँदै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले लघु उद्यम विकास कार्यक्रमले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले युवाशक्ति तथा विपन्न वर्गलाई उद्यमशीलतामा जोड्न सकेमा गरिबी न्यूनीकरणसँगै स्थानीय अर्थतन्त्र मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो  । पालिकाले  प्रत्येक वर्ष झण्डै २ सय ५० भन्दा बढीलाई  उद्यमशीलता सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न लघु उद्यमको महत्व, उद्यम सञ्चालनका अवसर र सम्भावनाबारे सहभागीहरुलाई जानकारी दिइएको पालिकाका प्रशासकीय अधिकृत उधम विकास तथा रोजगार शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक भीमबहादुर बिष्टले उद्यमशीलता भन्नाले आफ्नै सीप, स्रोत र अवसरको पहिचान गरी उत्पादन तथा सेवा क्षेत्रमार्फत आयआर्जन गर्ने गतिविधि भएको  बताउनुभयो । उहाँले  प्रशिक्षार्थीहरूलाई उद्यमशीलताका प्रमुख क्षेत्रहरूमा कृषि तथा पशुपालन, खाद्य प्रशोधन, हस्तकला तथा घरेलु उद्योग, सिलाइकटाइ, काठ तथा बाँसजन्य सामग्री उत्पादन लगायत पर्ने बताउनुभयो। यस्तै  सेवा क्षेत्र (जस्तै: मर्मत, सौन्दर्य सेवा, होटल तथा रेस्टुरेन्ट), पर्यटनसँग सम्बन्धित व्यवसाय लगायतका क्षेत्र समावेश हुने  विषयमा जानकारी समेत गराउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा मेड  मोडलका बारेमा पनि विस्तृत जानकारी प्रदान गरिएको पालिकाका प्रशासकीय अधिकृत उद्यम विकास तथा रोजगार शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिनुभयो । मेड मोडल अन्तर्गत स्थानीय स्रोत, सीप र बजारको सम्भावनाको अध्ययन गरी उद्यम छनोट गर्ने, सम्भावित उद्यमीको पहिचान गर्ने, उनीहरूलाई आवश्यक तालिम प्रदान गर्ने, व्यवसाय सुरु गर्न सहयोग गर्ने तथा बजारसँग जोड्ने लगायतका विषयवस्तुहरूबारे अभिमुखीकरणमा चर्चा गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले उद्यम सुरु गर्दा आवश्यक योजना, लगानी व्यवस्थापन, बजार पहिचान तथा व्यवसाय सञ्चालनका आधारभूत पक्षबारे समेत जानकारी प्राप्त गरेका थिए। स्थानीय स्तरमा बेरोजगारी न्यूनीकरण गरी आत्मनिर्भरता बढाउन लघु उद्यम विकास कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

अभिमुखीकरण कार्यक्रममा स्थानीय सरोकारवाला, सम्भावित उद्यमी तथा प्रत्येक वडाबाट दलित महिला सदस्य र पुरुष सदस्य , उद्योग वाणिज्य सङ्घका प्रतिनिधि,  पत्रकार लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीयस्तरमा उद्यमशीलताको विकास गर्दै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।