धनगढी, कैलाली : “उद्धार, रोकथाम र पुनर्स्थापनाको माध्यमबाट मानव बेचबिखनको अन्त्य गरौं” भन्ने मूल नारासहित धनगढीमा क्रस–बोर्डर कार्यक्रम सम्पन्न भएको छ । थ्री एन्जल्स नेपाल शाखा कार्यालय धनगढीको आयोजनामा नेपाल–भारत सीमावर्ती क्षेत्रमा कार्यरत सरोकारवाला निकाय तथा संघसंस्थाहरूबीच कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार रोकथाम, उद्धार, पीडितको पुनर्स्थापना र सीमा क्षेत्रमा देखिएका चुनौतीहरूबारे छलफल गरिएको थियो । सहभागीहरूले सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै दुई देशबीच प्रभावकारी समन्वय, सूचना आदान–प्रदान र उद्धार प्रक्रियालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा थ्री एन्जल्स नेपालको शाखा कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ मा उल्लेखनीय कार्य गरेको जनाएको छ । शाखाको प्रतिवेदन प्रस्तुत गर्दै मानव बेचबिखन विरुद्धको कार्यक्रम प्रबन्धक ममीला गुरुङले एक वर्षको अवधिमा संस्थाले ३,७६५ जनासँग सोधपुछ गरेको छ भने ८४४ जनालाई उद्धार र रोकथाम गरेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी ७६० जनाको पारिवारिक पुनर्मिलन गराइएको छ। त्यस्तै, ९२ जनालाई ट्रान्जिट होममा र १५ जनालाई पुनर्स्थापना गृहमा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै ७२ केस प्रहरीमा सिफारिस गरिएको संस्थाले जनाएको छ । ३० जनालाई कानुनी परामर्श दिइएको छ भने २५ वटा खोजतलासका निवेदन दर्ता भई १७ जना फेला गरिसकेको जानकारी दिइएको छ ।

थ्री एन्जल्स नेपालले एक वर्षको अवधिमा ११ वटा विद्यालयमा अभियान सञ्चालन गरी ९२३ विद्यार्थीलाई मानव बेचबिखन विरुद्ध सचेत गराएको छ । साथै, ७७५ जनाको सहभागितामा विभिन्न १२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने ६३ जनाको सहभागितामा २ वटा समन्वयात्मक तथा क्रस–बोर्डर बैठक सम्पन्न गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रमले सीमा क्षेत्रमा मानव बेचबिखन नियन्त्रणका लागि सहकार्य, समन्वय र संयुक्त पहललाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।