धनगढी : “उद्धार, रोकथाम र पुनर्स्थापनाको माध्यमबाट मानव बेचबिखनको अन्त्य गरौं” भन्ने मूल नारासहित थ्री एन्जल्स नेपालको आयोजनामा धनगढीमा सरोकारवाला निकाय तथा संघसंस्थाबीच समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्नुहुँदै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहले गर्नुपर्ने सबै प्रकारका सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, गैरसरकारी संस्था महासंघ कैलालीका उपाध्यक्ष विनोद सिंह कडराले सरोकारवाला निकायबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले विशेषगरी सीमा क्षेत्रमा बालबालिकासँग सम्बन्धित गतिविधि, महिलामात्र निगरानीमा राख्ने वा सबैलाई समेटेर निगरानी गर्ने विषय, तथा कार्यान्वयनका व्यवहारिक चुनौतीहरूबारे प्रश्न उठाएका थिए। कार्यक्रममा सहभागीहरूले यस्ता समन्वयात्मक पहलले मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवाला निकायबीच सहकार्य र सूचना आदानप्रदानलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिएका थिए।

यस अवसरमा थ्री एन्जल्स नेपालले आर्थिक वर्ष २०८१/०८२ मा गरेको काम सार्वजनिक गरेको थियो। प्रस्तुत तथ्यांक अनुसार संस्थाले १६ हजार ३४२ जनासँग सोधपुछ गरेको, ३ हजार ४३४ जनालाई उद्धार र रोकथाम गरेको र ३ हजार १६८ जनालाई पारिवारिक पुनर्मिलन गराएको जनाएको छ। त्यसैगरी १७२ जनालाई आपतकालीन गृह, ५८ जनालाई पुनर्स्थापना गृह र १९५ जनालाई प्रहरीमा सिफारिस गरिएको छ।

संस्थाले ७८७ जनालाई कानुनी तथा परामर्श सहायता प्रदान गरेको, ८१ वटा घरेलु हिंसा तथा यौन दुरुपयोगसम्बन्धी निवेदन दर्ता भएको, १०१ वटा खोजतलासका निवेदन प्राप्त भएको र ६५ जना फेला परेको तथ्यांकमा उल्लेख छ। साथै, ५३ वटा विद्यालय र सशस्त्र प्रहरी मार्फत अभियान अन्तर्गत ४ हजार ८१० जना सहभागी भई कार्यक्रम गरेको जनाएको छ। यस्तै सचेतनामूलक कार्यक्रममा ४ हजार २५ जना सहभागी हुनुका साथै १८ हजार १७३ वटा प्रचार सामग्री वितरण गरिएको जानकारी दिइएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माइती नेपाल, शान्ति पुनर्स्थापना केन्द्र, आशिष नेपाल, सिविन नेपाल लगायत विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी भई मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक सहकार्य, सीमा क्षेत्रमा हुने गतिविधि र प्रभावकारी निगरानी प्रणालीबारे छलफल गरेका थिए। कार्यक्रममा कैलालीको त्रिनगर भन्सार नाकामा कार्यरत मानव बेचबिखन विरुद्धका संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।