कञ्चनपुरको पुनर्वास नगरपालिकाले लिएको कक्षा आठको आधारभूत तह परीक्षाको नतिजा सार्वजनिक भएको छ । यस वर्ष परीक्षामा पालिका भित्रका ४६ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । पालिकाभित्र शतप्रतिशत नतिजा नौ वटा विद्यालयले ल्याएका छन् । शत प्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा सम्पूर्ण संस्थागत (निजी) विद्यालयहरू रहेका छन् ।

पालिकाभरि १ हजार २ सय ९० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए। सो मध्ये ८ सय ४४ जना उत्तीर्ण भएका छन् भने ४ सय ४६ जना विद्यार्थीले ( अनुत्तीर्ण ) नन ग्रेड प्राप्त गरेका छन् । पालिकाभित्र ४६ वटा विद्यालयका विद्यार्थीहरू परीक्षामा सहभागी भएपनि नौवटा विद्यालयले मात्रै शतप्रतिशत नतिजा हात पारेको छ ।

 शत प्रतिशत नतिजा ल्याउने विद्यालयहरूमा सिद्धार्थ विद्या निकेतन, फार्वेस्ट पब्लिक स्कुल, त्रिभुवन एकेडेमी लगायतका रहेका छन्। यस्तै भानु मेमोरियल बोर्डिङ स्कुल, सीता बस्ती पब्लिक स्कुल, आदर्श इङ्लिस बोर्डिङ स्कुलले पनि शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ । यस्तै पपुलर इङ्लिस बोर्डिङ स्कुल, पशुपति शिक्षा मन्दिर र कञ्चन पब्लिक स्कुलले समेत शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। यस्तै जीवनज्योति माध्यमिक विद्यालयको नतिजा शून्य रहेको छ। जसमा ४४ विद्यार्थी परीक्षामा सहभागी भएपनि ४४ विद्यार्थीले नै नन ग्रेड प्राप्त गरेका छन्। यस्तै एजी इङ्लिस स्कुल बाट परीक्षामा सहभागी भएका २२ जना विद्यार्थीमध्ये २१ जना विद्यार्थीले नन ग्रेड प्राप्त गरेका छन्। यस्तै गौरीशंकर माध्यमिक विद्यालय बाट परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमध्ये ४७ जना विद्यार्थीले नन ग्रेड प्राप्त गरेका छन् । बाँकी विद्यालयहरूका नतिजा भने मिश्रित देखिएको छ।

तर सैद्धान्तिक विषयतर्फ बढीमा दुई विषयमा ननग्रेड प्राप्त विद्यार्थीहरूका लागि वैशाख १० गतेदेखि १६ गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने पुनर्वास नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टले जानकारी दिनुभयो । ग्रेड वृद्धि परीक्षा गौरी शंकर माध्यामिक बिद्यालयमा सञ्चालन हुने उहाँले बताउनुभयो ।  वैशाख १० गते नेपाली ११ गते अङ्ग्रेजी १२ गते स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा हुनेछ। यस्तै वैशाख १३ गते गणित १४ गते विज्ञान तथा प्रविधि १५ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा र वैशाख १६ गते हाम्रो पुनर्वास विषयको परीक्षाहरु हुने उहाँले जानकारी दिनुभयो । समग्रमा हेर्नुपर्दा यस वर्ष भएको कक्षा आठको आधारभूत तह परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयहरू भन्दा संस्थागत विद्यालयहरूको नतिजा उत्कृष्ट देखिन्छ ।