धनगढी: नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा भोलिदेखि धनगढीमा आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले भोलि एक कार्यक्रमबीच केन्द्रीय साधारण सभाको उद्घाटन गर्नेछन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनले आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका वितरकबीचको एकता मजबुत बनाउने उद्देश्यले धनगढीमा साधारण सभा आयोजना गर्न लागिएको बताए । २०६६ सालमा स्थापना भएको महासंघ दैनिक उपभोग्य वस्तु द्रुत गतिमा बिक्री हुने उपभोक्ता वस्तुहरू (एफएमसीजी)को वितरण गर्ने जिल्लास्तरीय वितरक संघहरूको छाता संगठन हो । १७ वर्षको अवधिमा महासंघ ४५ जिल्लामा विस्तार भइसकेको छ ।

महासंघले २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड महामारी र २०८० सालको जाजरकोट भूकम्पका समयमा जोखिम मोलेरै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सञ्चालनमा राखेको अध्यक्ष गौतमले स्मरण गरे ।पत्रकार सम्मेलनमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढ्दा ढुवानी लागत महँगो भएको र हरेक पसलसम्म सामान पुर्‍याउन चुनौती थपिएको अध्यक्ष गौतमले जानकारी दिए ।

साधारण सभामा देशभरका ४५ जिल्लाका ३०० भन्दा बढी वितरक प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक मदनराज न्यौपाने, निवर्तमान अध्यक्ष हरीराज पन्त, राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।