सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा विपद् उद्धार बेश स्थापना गरेको हो । आसन्न मनसुनलाई मध्यनजर गरि सम्भावित विपदबाट हुन सक्ने क्षती न्यूनिकरणका लागी थप विपद् सुरक्षा बेश एवं मनसुन प्रतिकार्य टोलीहरु परिचालन गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले बताए । सशस्त्र प्रहरी बल, नेपालको नियमित परिचालनका अलावा विपद् उद्धारमा केन्द्रित भएर कार्य गर्न यस्ता बेशहरु स्थापना गरिएको समेत निमित्त बाहिनीपती सुवेदीले बताए ।

कैलालीको धनगढी उपमहानगर पालिका र चुरे गाँउपालिका–५, खानीडाँडा गरि २ स्थान, कंचनपुरको बेलौरी, डोटीको जोरायल गाँउपालिका २ बुडर, अछामको साफेबगर नगरपालिका १३ बुढाबगर, टासी, बाजुराको बुढीनन्दा नगरपालिका २ कोल्टी, दार्चुलाको शैल्यशिखर नगरपालिका १ बलाच र बैतडीको सदरमुकाममा गरि कुल ८ स्थानमा विपद् व्यवस्थापन बेशहरु स्थापना गरेको मुख्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालले सुदुर पश्चिम प्रदेशमा ११ जना गोताखोर र २७५ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तीहरुलाई समेत विपद् उद्धारको कार्यमा प्रभावकारी परिचालनका लागी समानुपातिक रुपमा सबै जिल्लाहरुमा तैनाथ गरिएको जनाएको छ ।

हालैमात्र भएका पानीजन्य विपद् उद्धारका लागी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले दार्चुला, बझांग, अछाम, डोटी र कंचनपुर जिल्लामा गोताखोर परिचालन गरि मृत शवहरुको फेला पारेको थियो । सशस्त्र प्रहरी बल, नेपालले स्थानिय सरकार संगको समन्वयमा समुदाय विपद् स्यवंसेवक तालिम संचालन गर्दै आईरहेको छ । प्रत्येक वडा तह सम्म सशस्त्र प्रहरी बलले विपद् सुचना प्राप्तीमा सहज होस भन्ने हेतुले विपद् सुचक समुह समेत स्थापना गरेको छ ।