कञ्चनपुरको पुनर्वास नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिनुका साथै अभिमुखीकरण सम्पन्न भएको छ। यो सँगसँगै स्थानीय परियोजना सल्लाहकार समितिको बैठक समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोग तथा People In Need (PIN NEPAL) को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो । यस्तै कार्यक्रमको आयोजना एकाउन्टबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको साझेदारीमा भएको थियो । पालिकाभित्रको शिक्षा प्रणालीलाई समावेशी शिक्षाको रूपमा अघि बढाई गुणस्तरीय बनाउन ACCESS परियोजना अन्तर्गत काम सुरु भएको छ । पालिकाको शिक्षालाई समावेशी बनाउन पुनर्वास नगरपालिकाको उपप्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा २१ सदस्य समिति गठन समेत गरिएको छ । उक्त समितिको संरक्षक पुनर्वास नगरपालिकाको नगरप्रमुख तोयप्रसाद शर्मा रहनुभएको छ ।

उक्त कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले पालिकाभित्र यस कार्यक्रम लागू भए बालबालिकाका लागि अत्यन्तै राम्रो हुने बताउनुभयो। समावेशी र गुणस्तरीय शिक्षाका लागि विद्यालय अभिभावक र विद्यार्थीले नै जोड्दिन आवश्यक रहेको बताउँदै स्थानीय सरकारले गर्ने सहयोग गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो । यस कार्यक्रमले पालिका भित्र समावेशी र गुणस्तरीय शिक्षा लागू गर्न सहयोग गर्नुका साथै विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयको पहुँचसम्म पुर्‍याउने काम गर्नेछ। योसँगै कार्यक्रमलाई प्रभावकारी बनाउन गुनासो सुनवाई समिति समेत गठन गरेर काम गर्ने लक्ष्य लिएको आयोजकले बताएका छन्।

उक्त कार्यक्रममा ACCESS परियोजनाका बारेमा एकाउन्टबिलिटी ल्याब नेपालका जिल्ला संयोजक गङ्गा भण्डारीले परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो। यस्तै बालिका तथा समावेशी शिक्षा सञ्जालको अभिमुखीकरण प्रदेशको GEDSI Trainer पुष्पा रोकायाले गर्नुभएको थियो । कार्यक्रममा सञ्चालन समावेशी शिक्षा अभियानकर्ता अनिता ढुंगानाले गर्नुभएको थियो।