सशस्त्र प्रहरीद्वारा कञ्चनपुरको बेलौरीमा लागू औषध दुर्वेशन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। बेलौरी नगरपालिका वडा नं. ४ शान्तिनगर स्थित उग्रतारा बाल विद्यालयमा लागुऔषध दुर्व्यसन तथा मादक पदार्थ सेवनबाट हुने असर सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले जनाएको छ।

 

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले “लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनबाट हुने असरहरू” विषयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध तथा मादक पदार्थ सेवनका कारण स्वास्थ्य, पारिवारिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

साथै यस्ता कुलतबाट टाढा रहन, सचेत बन्न तथा समाजमा सकारात्मक सन्देश फैलाउन समेत उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । सचेतनामूलक कार्यक्रममा ११२ जना विद्यार्थीहरू, शिक्षक शिक्षिका लगायतको सहभागिता रहेको थियो । यस क्षेत्रका अधिकांश विद्यालयहरूमा क्रमशः यस्ता सचेतनामूलक कक्षाहरू सञ्चालन गर्ने योजना रहेको गुल्मले जनाएको छ ।