कञ्चनपुरको पुनर्वासमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, प्रहरी तथा विभिन्न सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

उक्त अभिमुखीकरण कार्यक्रमलाई सहजीकरण गर्नुहुँदै जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका टीवी तथा एचआइभी फोकल पर्सन नरेन्द्र सिह रावलले अहिले पनि एचआईभी संक्रमित व्यक्तिप्रति समाजमा विभेद र नकारात्मक सोच कायम रहेको बताउनुभयो । त्यसकारण समाजमा हुने गरेको विभेद तथा नकारात्मक सोचलाई अन्त्य गर्न सामूहिक पहल आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

  • कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार  नेपालमा आर्थिक वर्ष २०८०/८१ सम्म एचआईभी संक्रमित भई एआरटी उपचारमा ३ हजार ७ सय २३ जना रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा १ लाख ११ हजार १४९ जनालाई एचआइभी परीक्षण गर्दा २१४ जनामा पोजिटिभ भेटिएको छ । त्यसैगरी कञ्चनपुर जिल्लामा १९ हजार ९४७ जनामा एचआइभी चेक गर्दा ५२ जनामा पोजिटिभ भेटिएको तथ्याङ्कले देखाउँछ । कञ्चनपुर जिल्लामा मात्रै हालसम्म एआरटी सेवामा ४६० जना दर्ता भएका छन्।

कार्यक्रममा बोल्नुहुँदै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माले स्थानीय स्तर बाट वडा, पालिका हुँदै जिल्लासम्म एचआईभी संक्रमण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले एचआइभी समयमै परीक्षण गर्न तथा उपचार सेवामा पहुँच विस्तार गर्न समेत आवश्यक रहेको औल्याउनुभयो।

कार्यक्रममा सहभागीहरूले अहिले पनि स्थानीय स्तरमा एचआईभी संक्रमित व्यक्तिहरूलाई समाजबाट अलग गर्ने, हेपाहा व्यवहार गर्ने तथा गलत दृष्टिकोण राख्ने प्रवृत्ति कायमै रहेको बताएका थिए । तर पछिल्लो समय केही एचआइभी संक्रमित हरू खुलेरै देखिन थालेको छन् भने उनीहरूलाई जनचेतनामूलक कार्यमा समेत अग्रसर देख्न सकिन्छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूले एचआईभी सम्बन्धी सही सूचना समुदायस्तरसम्म पुर्‍याउने, संक्रमितप्रति सम्मानजनक व्यवहार गर्ने वातावरण निर्माण गर्ने तथा लाञ्छना र भेदभाव अन्त्यका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एचआइभी सम्बन्धी अभिमुखीकरणले संक्रमित व्यक्तिहरूलाई समाजमा समान अवसर र सम्मानपूर्वक बाँच्न सहयोग पुग्नुका साथै संक्रमण नियन्त्रण अभियानलाई समेत प्रभावकारी बनाउने विश्वास गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटी तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।