कञ्चनपुरको पुनर्वासमा श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम अन्तर्गत “आर्थिक समृद्धिका लागि श्रमको सम्मान” शीर्षकमा वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ । रोजगार सेवा केन्द्र पुनर्वास नगरपालिकाको आयोजनामा पालिका भित्रका माध्यमिक विद्यालयको विद्यार्थीहरूका बीच वक्तित्वकला कार्यक्रम गरिएको थियो ।

उक्त प्रतियोगितामा  २२ विद्यालयका ४४ जनाले भाग लिएका थिए। उनीहरू मध्यबाट प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक विद्यालय मोतीबस्तीको कक्षा ११ मा अध्ययनरत छात्रा सृष्टि साउदले जितेकी छन्।  यस्तै प्रतियोगितामा द्वितीय स्थान विजय माध्यमिक विद्यालयका छात्र लक्ष्मण बिष्टले हात पारेका छन्। प्रतियोगितामा तृतीय स्थान नवयुग विद्या निकेतनका छात्र विपिन सिंहले  जितेका छन् भने बागीश्वरी माध्यमिक विद्यालयकी छात्रा मनिका लामिछानेले  सान्तवना पुरस्कार जित्न सफल भएकी छन्

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गर्दै पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले आगामी दिनमा विद्यार्थीहरूका लागि यस्तै रचनात्मक कार्यक्रमहरू गर्ने बताउनुभयो । पालिका स्तरमा हुने यस्ता कार्यक्रमले पालिकाभित्रका सबै विद्यालयहरू समेटिनुका साथै सबै विद्यार्थीहरूका लागि राम्रो माहोल निर्माण हुने उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी हरूको सहभागिता रहेको थियो।