रातिको समयमा तपाईं पुनर्वास देखि धनगढी सम्मको यात्रा गर्दै हुनुहुन्छ भने सबैभन्दा बढी डर कहाँ निर लाग्छ ?  एकपटक सोच्नुहोस् त ?  सोच्नु भयो ! सिमरी पुल देखि दोदा पुलको बीच क्षेत्रमा ….

तपाईंहरूले पनि यही सोच्नु भयो होला है  ।  अन्धकार रातको समय, न बस्ती छ, न  त सडक बत्ती नै,  त्यही माथि दोदा र सिमिरी खोलाको क्षेत्र, आजै त्यसको पूर्व तर्फ भारतीय दुधावा राष्ट्रिय निकुञ्ज, कहिले जङ्गली जनावरको डर त्रास त कहीँले मान्छेको नै डर ।

पटक पटक पुनर्वासीले माग्दै आएको योजना  दोदा – सिमरीको बीचमा सडक बत्ती जडान गर्नु पर्यो। अब भने त्यो योजना सुरु भएको छ । पहिलो चरणमा दोदा पुल देखि झण्डै डेढ किोमिटर क्षेत्रमा सडक बत्ती जडान हुने भएको छ । आईतबार सडक बत्ती जडानका लागि  हरेक ३०-३० मिटरको क्षेत्रमा बत्तीको पोल राख्न खाल्डो खन्ने काम सुरु भएको सुदुर पश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले  जानकारी दिनुभयो ।

प्रदेश सरकार र पुनर्वास नगरपालिकाको संयुक्त लगानीमा सडक बत्ती जडानको काम सुरु भएको उहाँले बताउनभयो । अहिले अधा क्षेत्रमा सडक बत्ती जडान हुने जानकारी दिँदै आर्थीक बर्ष २०८३/८४ को बजेटमा समेत सडक बत्ती जडानका लागि निरन्तरता दिन बजेट विनियोजन गरेको उहाँले जानकारी दिनु भयो ।

यस्तै पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख प्रशासकीय अधिकृत शंकर बोगटीले प्रदेश सरकारको २० लाख र पुनर्वास नगरपालिकाको १५ लाख गरी ३५ लाखको बजेट  सडक बत्ती जडानको काम सुरु भएको बताउनुभयो । तेस्रो पटकको सूचना जारी गर्दा मात्रै ईबिड मार्फत दीप लाईट ईनर्जी काठमाडौंलाई टेण्डर परेको उहाँले जानकारी गराउनुभयो ।

वर्षौंदेखि अँध्यारोमा हिँड्न बाध्य पुनर्बासीहरूका लागि अब भने मेरो राहात मिल्नेछ । तर पहिलो चरणमा झन्डै डेढ किलोमिटर मात्रै बाटोमा सडकबत्ती जडान हुने छ । बाँकी डेढ किलोमिटरका लागि स्थानीयले अझै केही समय कुर्नुपर्ने छ ।