कञ्चनपुरको पुनर्वास नगरपालिका उद्यम विकास शाखाको आयोजनामा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत सञ्चालन गरिएको ३९० घण्टे इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

करिब तीन महिनासम्म सञ्चालन भएको तालिममा घरायसी तथा व्यावसायिक विद्युतीय जडान, तार जडान, स्विच तथा सकेट जडान, मिटर सम्बन्धी आधारभूत ज्ञान, सुरक्षा विधि, विद्युतीय उपकरणहरूको मर्मत सम्भार तथा व्यवहारिक अभ्यास लगायतका विषय समेटिएको तालिमका प्रशिक्षक राम रोकायाले बताउनुभयो ।

समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख शर्माले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेर स्वरोजगार तथा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । नगरपालिकाले सीपमूलक कार्यक्रम मार्फत स्थानीय युवाहरूलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट मन्तव्य राख्दै एक सहभागीले तालिमबाट आफूहरूले विद्युत् सम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान हासिल गरेको बताउनुभयो । तालिमले आफूहरूलाई आत्मविश्वास बढाएको बताउँदै अब स्थानीय स्तरमै काम गर्ने अवसर सिर्जना भएको बताउनुभयो । आगामी दिनमा नगरपालिकाले एसी मर्मत, रेफ्रिजेरेटर मर्मत, इनभर्टर तथा सोलार प्रणाली जस्ता एडभान्स कोर्सहरू सञ्चालन गरिदिए अझ बढी दक्ष जनशक्ति उत्पादन हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासक अधिकृत र शाखा अधिकृतहरूले मायाको चिन्ह सहित सम्मान र प्रमाणपत्र वितरण गर्नुभएको थियो । सहभागीहरूमध्ये प्रथम द्वितीय र तृतीयलाई नगद सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रशिक्षक, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा सहभागीहरूको उपस्थिति रहेको थियो। नगरपालिकाले आगामी दिनमा पनि बजारको मागअनुसार विभिन्न सीपमूलक तथा उद्यम विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । उक्त तालिममा पुनर्वास नगरपालिकाका विभिन्न वडाबाट छनोट भएका २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।