कञ्चनपुरको पुनर्वास नगरपालिकाको १९ औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ। पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको नगरसभा सञ्चालन भएको थियो। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सुशासन, पर्यटन तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखेको छ ।नगरको नीति तथा कार्यक्रम पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलिया कुमारी रानाले प्रस्तुत गर्नुभएको थियो।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न स्रोतबाट ७६ करोड १७ लाख ११ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ। व्ययतर्फ ३१ करोड ९५ लाख ७८ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ भने सशर्त तथा शीर्षकगत बजेटअन्तर्गत प्राप्त रकम सोही शीर्षकमा खर्च गर्नुपर्ने व्यवस्था अनुसार ३२ करोड ३३ हजार रुपैयाँ रहेको छ। यसरी समग्रमा हेर्दा ६३ करोड ९६ लाख १० हजार खर्च हुने देखिएको छ । वडागत विकासका लागि कुल ५ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ। वडा नम्बर १, ५, ९ र ११ लाई ५५/५५ लाख रुपैयाँ, वडा नम्बर २ र ८ लाई ५०/५० लाख रुपैयाँ, वडा नम्बर ६ र १० लाई ४५/४५ लाख रुपैयाँ तथा वडा नम्बर ३, ४ र ७ लाई ४०/४० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

शाखागत रूपमा ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको छ। आर्थिक विकास शाखाका लागि १ करोड ६५ लाख रुपैयाँ तथा सामाजिक विकास शाखाका लागि ३ करोड ८१ लाख रुपैयाँ छुट्याइएको छ। सामाजिक विकासतर्फ शिक्षाका लागि २ करोड रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि १ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ६० लाख रुपैयाँ तथा सुशासन, सूचना प्रविधि, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि ३५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ।

यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत्, ढल निकास, भू–उपयोग योजना तथा सीमावर्ती बस्ती विकासलाई प्राथमिकतामा राखिएको छ। नगरपालिकाले क्रमशः कच्ची सडकमुक्त नगर बनाउने लक्ष्य अघि सारेको छ । यो सँगै कृषि तथा पशुपालन क्षेत्रलाई उत्पादनमुखी बनाउँदै आधुनिक कृषि प्रविधि, व्यावसायिक खेती र पशुपालन प्रवर्द्धन गरिने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि उद्यममा आकर्षित गर्ने योजना समेत ल्याइएको छ । यस्तै सीपमूलक तालिम, स्वरोजगार तथा साना उद्योग प्रवर्द्धनमार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षबाट नवप्रवर्तन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। उक्त केन्द्रमार्फत डिजिटल प्लेटफर्मबाट युवा रोजगारी सिर्जना, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन र सार्वजनिक निजी साझेदारीका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा ८५ करोड ५१ लाख ७९ हजार रुपैयाँ बजेटमध्ये जेठ मसान्तसम्म ४३ करोड १६ लाख ८३ हजार ४ सय १८ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ५०.७३ प्रतिशत हो । चालु आर्थिक वर्षमा १११ वटा उपभोक्ता समिति मार्फत सञ्चालन भएका योजनामध्ये अधिकांश योजनाको ७० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। यस्तै ४३ वटा ठेक्का योजनामध्ये केही सम्पन्न, केही निर्माणाधीन तथा केही सम्झौताको चरणमा रहेका छन्। कृषि तथा पशु विकास शाखा भवन, रानाथारु सङ्ग्रहालय तथा वडा नम्बर ९ को बिटुमिन सडक निर्माण अन्तिम चरणमा पुगेका छन्।

हेफर इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालित कार्यक्रम मार्फत करिब दुई हजार घरधुरी लाभान्वित भएका छन्। कृषि तथा पशुपालन क्षेत्रमा विभिन्न अनुदान, खोप, कृत्रिम गर्भाधान तथा बीउ वितरणका कार्यक्रम सञ्चालन गरिएका छन्। शिक्षा क्षेत्रमा १८ हजार ८६६ विद्यार्थी अध्ययनरत रहेका छन् भने शिक्षक तालिम, स्मार्ट बोर्ड जडान, भर्चुअल शिक्षण तथा विद्यालय पूर्वाधार विस्तारका कार्यक्रम सञ्चालन भएका छन्।

स्वास्थ्य क्षेत्रमा सिकलसेल तथा थालासिमिया परीक्षण, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा तथा आधुनिक स्वास्थ्य उपकरण जडान गरिएको छ। न्यायिक समितिमा दर्ता भएका ५१ मुद्दामध्ये ४६ वटा मेलमिलापमार्फत टुंगो लगाइएको छ। रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीसम्बन्धी सेवा, सीपमूलक तालिम तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएका छन्। भू–सेवा केन्द्रमार्फत जग्गा खरिद–बिक्री सेवा समेत सुरु गरिएको नगरपालिकाले जनाएको छ।