कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि दिगो कृषी, पर्यटन, ब्यापार र उत्थानशील पूर्वाधार : समृद्ध बेलौरीको मूल आधार भन्ने दीर्घकालीन सोच सहित नीति तथा कार्यक्रम र ९४ करोड ५५ लाख रुपैयाँको बजेट सार्बजनिक गरेको छ । नगर सभाको १७ औँ अधिवेशनमा नगर प्रमुख पोतीलाल चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । सभामा नगर प्रवक्ता हर्क भुलले पनि नीति तथा कार्यक्रमका महत्वपूर्ण अंशहरू वाचन गर्नु भएको थियो । व्यापक छलफल र जनप्रतिनिधिहरूको सुझाव पछि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको नगरपालिकाले जनाएको छ ।

स्मार्ट बेलौरी निर्माणमा जोड : नगरपालिकाले ‘सूचना प्रविधि, सुशासन र सदाचार : स्मार्ट बेलौरीको बलियो आधार’ भन्ने नारा सहित डिजिटल सेवा प्रवाह, पारदर्शिता र प्रविधिमैत्री प्रशासनलाई प्राथमिकतामा राखेको छ । आधुनिक प्रविधिको उपयोग, श्रमको सम्मान तथा उद्यमशीलताको विकास मार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य नीति तथा कार्यक्रममा समेटिएको छ ।

कृषी र उद्यम विकासका नयाँ योजना : कृषीलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधार मान्दै नगरपालिकाले केराको थाम (काण्ड) बाट धागो तथा डोरी उत्पादन गर्ने उद्योग स्थापना गर्ने नीति अघि सारेको छ । किसानहरूलाई ५० प्रतिशत अनुदानमा खाद्यान्न, तरकारीका बीउ–बिजन तथा कृषि औजार उपलब्ध गराइनेछ भने रासायनिक मलको प्रयोग घटाएर जैविक खेतीलाई प्रोत्साहन गरिने भएको छ । यस्तै, ‘एक घर एक उद्यमी, एक वडा एक उत्पादन, एक वडा एक उद्योग’ अभियान सञ्चालन गरी स्थानीय स्रोत–साधनमा आधारित लघु उद्यम प्रवद्र्धन गरिने नीति लिइएको छ ।

पर्यटन प्रवद्र्धनका लागि ड्रोन तालिम : पर्यटन क्षेत्रको प्रचार–प्रसारलाई आधुनिक ढंगले अघि बढाउन युवाहरूलाई ड्रोन क्यामेरा सञ्चालन सम्बन्धी तालिम प्रदान गरिने भएको छ । यस कार्यक्रम मार्फत पर्यटन विकास सँगै युवाहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने नगरपालिकाको लक्ष्य राखेको छ ।

स्वास्थ्यमा सिकलसेल र थालासेमिया माथि बिशेष ध्यान : स्वास्थ्य क्षेत्रतर्फ नगरपालिकाले सिकलसेल एनेमिया र थालासेमिया नियन्त्रणलाई प्राथमिकतामा राखेको छ । यी रोगहरूको जोखिम न्यूनीकरणका लागि विवाह पूर्व अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने नीति पालिकाले ल्याएको छ ।

शिक्षा क्षेत्रमा ई–हाजिरी देखि लोकसेवा तयारी सम्म : शिक्षाको गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रत्येक विद्यालयमा ई–हाजिरी प्रणाली लागू गरिनुका साथै लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।

बजार व्यवस्थापन र पूर्वाधार विकास :  भौतिक पूर्वाधार विकास अन्तर्गत बेलौरी, कलकत्ता र गोकुलपुर बजार क्षेत्रलाई व्यवस्थित तथा आकर्षक बनाउन ‘कलर कोडिङ’ प्रणाली लागू गरिनेछ । साथै बेलौरी रिङरोड निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरीनुका साथै बेलौरी–कलुवापुर सडक र हुलाकी राजमार्गलाई चार लेनमा विस्तार गर्न पहल गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्य आगामी वर्ष देखि तीव्र रूपमा अघि बढाइने नगरपालिकाले जनाएको छ ।

९४ करोड ५५ लाखको बजेट  : नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९४ करोड ५५ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । कुल बजेटमध्ये ७३ करोड ८५ लाख २४ हजार रुपैयाँ (७८.११ प्रतिशत) चालु खर्चतर्फ र २० करोड ६९ लाख ७६ हजार रुपैयाँ (२१.८९ प्रतिशत) पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ ।  नगरपालिकाका अनुसार सामाजिक सुरक्षा भत्ताबाट २२ करोड, संघीय सरकारको वित्तीय हस्तान्तरणबाट ४४ करोड १६ लाख, राजश्व बाँडफाँडबाट १२ करोड ६० लाख ३८ हजार, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट ८ करोड २८ लाख ६२ हजार, आन्तरिक आयबाट ५ करोड, मौज्दातबाट २ करोड तथा सडक बोर्डबाट ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। स्थानीय विकासका लागि वडा स्तरीय योजनाहरूमा कुल ३ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । वडा नम्बर ८ ले सबैभन्दा बढी ३६ लाख १० हजार रुपैयाँ प्राप्त गरेको छ भने वडा नम्बर १ ले २४ लाख १० हजार रुपैयाँ पाएको छ । यसबाहेक नगरस्तरीय योजना तथा नगर गौरवका कार्यक्रम सञ्चालनका लागि छुट्टै २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई एकसाथ अघि बढाउँदै ‘समृद्ध बेलौरी’ निर्माणको दीर्घकालीन लक्ष्यलाई साकार पार्ने अपेक्षा गरिएको छ ।