कञ्चनपुरको पुनर्वास नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२/०८३ मा न्यायिक समितिबाट प्रवाह गरिएका सेवा–सुविधा, सुशासन, न्यायिक गतिविधिको प्रभावकारिता, सामाजिक उत्तरदायित्व, जवाफदेहिता तथा पारदर्शिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ।

पुनर्वास-५ को  सभाहलमा आयोजित कार्यक्रममा बोल्दै  न्यायिक समितिको संयोजक तथा उपप्रमुख भूलिया कुमारी रानाले आर्थिक वर्षभरि सम्पादन गरेका कार्य, सेवा प्रवाहको अवस्था तथा न्याय सम्पादन प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रममा स्थानीयले सेवा प्रवाहसँग सम्बन्धित जिज्ञासा, सुझाव र गुनासो राख्दै नगरपालिकालाई थप प्रभावकारी र जनउत्तरदायी बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, स्थानीय नागरिक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सार्वजनिक सुनुवाइले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउनुका साथै पारदर्शिता र जवाफदेहितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको आयोजना पुनर्वास नगरपालिकाले गरेको थियो भने सहजीकरण नेपाल सृजनशील विकास तथा संरक्षण समाजले गरेको थियो ।