कञ्चनपुरको पुनर्वास नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२÷८३ मा न्यायिक समितिबाट प्रवाह गरिएका सेवा, सुशासन, न्यायिक गतिविधिको प्रभावकारिता, सामाजिक उत्तरदायित्व, जवाफदेहिता तथा पारदर्शिता सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार एक कार्यक्रमका बिच पुनर्वास– ९ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै न्यायिक समितिका सदस्य केशव सार्कीले आर्थिक वर्षभरि न्यायिक समितिले सम्पादन गरेका कार्य, सेवा प्रवाहको अवस्था, दर्ता भएका उजुरी, मेलमिलाप तथा न्याय सम्पादन प्रक्रिया बारे विस्तृत जानकारी दिनुभयो । उहाँले न्यायिक समितिलाई नागरिकमैत्री, छिटो–छरितो र प्रभावकारी बनाउने प्रयास निरन्तर जारी रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नु हुदै पुनर्वास–९ का वडाध्यक्ष नरबहादुर विकले स्थानीय तहमा हुने यस्ता सार्वजनिक सुनुवाइले नागरिक र सरकार बीचको दूरी घटाउने, जनगुनासो सुन्ने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले नागरिकका सुझावलाई व्यवहारमा उतार्दै पारदर्शी र उत्तरदायी स्थानीय सरकार निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

यस्तै न्यायिक समितिको संयोजक तथा उपप्रमुख भुलिया कुमारी रानाले न्यायिक समितिले कानुनी प्रक्रिया, निष्पक्षता र मेलमिलापको माध्यमबाट स्थानीय स्तरका विवाद समाधान गर्दै आएको बताउनुभयो । उहाँले नागरिकका सुझाव र गुनासोलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा सेवा प्रवाहलाई अझ गुणस्तरीय, सहज र विश्वासिलो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले न्यायिक समितिको सेवा प्रवाह, विवाद समाधान प्रक्रिया तथा नगरपालिकाले प्रदान गर्ने सेवा सम्बन्धी जिज्ञासा, सुझाव र गुनासो राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय, स्थानीय नागरिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना पुनर्वास नगरपालिकाले गरेको थियो भने सहजीकरण नेपाल सृजनशील विकास तथा संरक्षण समाजले गरेको थियो ।