पुनर्वास । सुदूरपश्चिम प्रदेशमा सहकारी मार्फत कृषि पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्वासमा निर्माण गरिएको मकै भण्डारण गोदामको उद्घाटन सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले गर्नुभएको छ।

करिब २१ लाख १२ हजार ६ सय २६ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको उक्त गोदाममा कृषि ज्ञान केन्द्रबाट १६ लाख ८७ हजार २ सय ५१ रुपैया अनुदान तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड त्रिभुवनबस्तीको तर्फबाट ५ लाख ५ हजार ४ सय ७५ रुपैया बराबरको लागत साझेदारी गोदाम निर्माण गरिएको सहकारीले जनाएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले प्रदेशमै सहकारी मार्फत यस प्रकारको काम आफ्नो कार्यकालमा पहिलो पटक सुरु भएको बताउनुभयो । निर्माण गरिएका संरचनालाई प्रयोगविहीन बनाएर थन्क्याउने होइन, जुन उद्देश्यका लागि निर्माण गरिएको हो, त्यसैका लागि प्रभावकारी रूपमा सञ्चालन गर्न उहाँले सहकारीलाई निर्देशन समेत दिनुभयो ।

 

उहाँले देशका विभिन्न सहकारीहरूको अनुगमन गरेको अनुभव सुनाउँदै पुनर्वासमा रहेको सहकारी अझै उदाहरणीय बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अन्य क्षेत्रका मानिसहरू पनि पुनर्वासको सहकारीको काम हेर्न आउने वातावरण बनाउन सहकारीले अझै प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

मन्त्री थापाले पछिल्लो समय रासायनिक मलकोमाग अत्यधिक बढेकाले सरकारले मात्रै आवश्यकता अनुसार मल उपलब्ध गराउन नसक्ने स्पष्ट पार्नुभयो । त्यसैले किसानलाई घरायसी, प्राङ्गारिक तथा गड्यौले मल उत्पादनतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिँदै गोबर मल डिपो सञ्चालन गरी गोबर मलको खरिद–बिक्री समेत गर्न सकिने उहाँले बताउनुभयो । साथै, सहकारीले आगामी दिनमा सञ्चालन गर्न सक्ने योजनाका लागि मन्त्रालयमा आवेदन दिन आग्रह गर्दै मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष दिना निरौलाले पुनर्वास नेपालकै धेरै मकै उत्पादन हुने क्षेत्रमध्ये एक भएको उल्लेख गर्दै मकै भण्डारण गोदाम निर्माणमा सहयोग गर्ने सबै निकाय प्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सहकारीले पहिलो प्राथमिकता मकैलाई दिएको बताउँदै अब दाना उद्योगसँग समन्वय गर्ने वा आफ्नै फिड मिल स्थापना गरी काम अघि बढाउने तयारी भइरहेको जानकारी।  दिनुभयो ।

 

नवनिर्मित मकै भण्डारण गोदाम सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न, बजार व्यवस्थापनमा सहजता ल्याउन तथा मकैको मूल्य अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।