कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ को आयोजनामा सञ्चालन भएको तीन महिने आधारभूत कम्प्युटर कोर्स तथा एक महिने आधारभूत ब्युटी पार्लर तालिमको समापन गरिएको छ । आधारभूत कम्प्युटर कोर्समा ३६ जना र आधारभूत ब्युटी पार्लर तालिममा ३० जना गरी जम्मा ६६ जना प्रशिक्षार्थी सहभागी रहेको वडा कार्यालयले जनाएको छ ।

समापन कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर बिकले तालिमबाट हासिल गरेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार र आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले सीपमूलक तालिमले युवायुवती तथा महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै आगामी दिनमा पनि स्थानीय नागरिकको आवश्यकता र माग अनुसार यस्ता सीपमूलक तथा आयआर्जनसँग जोडिएका तालिमहरू सञ्चालनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिममा सहभागीहरूले छोटो अवधिको तालिमबाट आधारभूत स्तरको ज्ञान र सीप हासिल गर्न सफल भएको बताउँदै आगामी दिनमा डिप्लोमा तहको तालिम सञ्चालनको व्यवस्था मिलाइदिन वडा अध्यक्षसँग आग्रह गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै अतिथीहरुले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू राजन सुनार, रामबहादुर खाती का जनप्रतिनिधिहरू, कम्प्युटर अपरेटर पवन विक, स्थानीय, सञ्चारकर्मी तथा प्रशिक्षक र प्रशिक्षार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।