कञ्चनपुरको कुण्डा सब डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्तामा निःशुल्क बिरुवा वितरण सुरु गरीएको हो ।

डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गत रहेको कुण्डा सब डिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन भएका विभिन्न प्रजातिका बिरुवा इच्छुक किसान, निजी वनधनी, सामुदायिक वन उपभोक्ता समूह, विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्थालाई निःशुल्क वितरण गर्न थालिएको कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिनुभयो । यस वर्ष अमला, सतीसाल, निम, बकाइनो, गोल्डमोहर, राजवृक्ष, मोरिंगा, कल्पवृक्ष, पारिजात, सिसौ, बडहर, लगायतका बिरुवा वितरण गरिने कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख तोय प्रसाद शर्माले बिरुवा वितरण मात्र नभई ती बिरुवाको संरक्षण र अनुगमनमा पनि वन कार्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले हरियाली प्रवद्र्धन, वातावरण संरक्षण तथा कृषिमा आम्दानी वृद्धि गर्न वृक्षारोपण अभियानलाई सबैले अभियानकै रूपमा अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी राना, धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐर, सशस्त्र प्रहरी बल नेपाल बीओपी टाउकेबजारका सशस्त्र प्रहरी निरीक्षक हरि बिक, बीओपी दोदाका सशस्त्र प्रहरी निरीक्षक महेन्द्र बम, वन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवका अनुसार यस वर्ष करिब ५० हजार बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्य रहेको छ । वातावरण संरक्षण, हरियाली विस्तार तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।