कञ्चनपुरको पुनर्वास नगरपालिका – ३,  स्थित आईबीआरडी बजारमा आधुनिक प्रविधि सहितको ‘एमडी लुक्स सलुन’ सञ्चालनमा आएको छ। लामो समयदेखि सञ्चार क्षेत्रमा क्रियाशील स्थानीय सञ्चारकर्मी धनबहादुर विश्वकर्मा (डीबी सञ्चारकर्मी) ले सुरु गर्नुभएको उक्त व्यावसायिक प्रतिष्ठानको आज एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री लक्ष्मी विकको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न सामाजिक क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। मोफसलका बजारहरूमा यस प्रकारका अत्याधुनिक व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा आउनुले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वरोजगार र रोजगारीका अवसरहरू सिर्जना गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ।

उद्घाटन समारोहमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल,पुनर्वास उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार रायमाझी र नेपाल रेडक्रस सोसाइटी पुनर्वास शाखाका अध्यक्ष कृष्णबहादुर तामाङ लगायत स्थानीय नेतृत्वको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागीहरूले बजारको आधुनिकीकरण र व्यावसायिक विकासमा युवा उद्यमीहरूको लगानी प्रशंसनीय रहेको धारणा व्यक्त गरेका थिए।

बजारको बढ्दो माग र आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइएको यस सलुनले स्थानीय नागरिकलाई एउटै छानामुनि परिष्कृत र गुणस्तरीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। सञ्चारकर्मीले सञ्चार कर्मसँगै व्यावसायिक क्षेत्रमा चालेको यो कदमलाई स्थानीय समुदायले उद्यमशीलताको एक सकारात्मक उदाहरणका रूपमा लिएका छन्।