कञ्चनपुरको पुनर्वासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयको आयोजनामा ‘सिमावासीसँग अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । सोही कार्यक्रमको अवसर पारेर मनसुनजन्य विपद्को तयारीलाई थप प्रभावकारी बनाउन पुनर्वास नगरपालिकाले बिओपी पुनर्वासलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ ।

 पुनर्वास नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल बीओपी पुनर्वासबीच भएको सम्झौता अनुसार मनसुन अवधिभर प्रयोग गर्ने गरी नगरपालिकाले आफ्ना स्वामित्वमा रहेका उद्धार सामग्री बिओपीलाई जिम्मेवारी पूर्वक प्रयोग तथा संरक्षण गर्ने सर्तमा उपलब्ध गराएको हो । सम्झौता अनुसार हस्तान्तरण गरिएका सामग्रीहरुमा १ थान रबर बोट, ३ थान प्याडल, १० थान लाइफ ज्याकेट, ४ थान लाइफ बोरिङ र १० जोर गमबुट रहेका छन् ।

नगरपालिकाले उपलब्ध गराएको उक्त सामग्री पुनर्वास नगरपालिका क्षेत्रभित्र बाढी, डुबान लगायत मनसुनजन्य विपद्का बेला खोज तथा उद्धार कार्यमा मात्रै प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा सीमावासीको सहभागिता रहेको थियो ।