कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ निवासी लक्ष्मण थापाले भारतको चेन्नईमा आयोजित अन्तर्राष्ट्रिय स्तरको क्युलिनरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । भारतको चेन्नईस्थित रामाडा बाई विन्धम चेन्नई एग्मोरमा आयोजित International Culinary Alliance (ICA) को Certificate of World Record कार्यक्रममा थापाले नेपालको सुदूरपश्चिम प्रदेशको परम्परागत परिकार मासको फाँडो र बटूक प्रस्तुत गर्दै विश्व रेकर्डमा आफ्नो नाम समावेश गराएका हुन् ।

विश्व रेकर्ड कार्यक्रम “100 Chefs Presenting 100 Unique Dal & Lentil Creations” अन्तर्गत विश्वका विभिन्न देशका व्यावसायिक भान्से तथा क्युलिनरी क्षेत्रका प्रतिभाबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नेपाल र भारतसहित २० राष्ट्रका एक सयभन्दा बढी भान्से तथा क्युलिनरी क्षेत्रका प्रतिनिधिहरू सहभागी रहेको आयोजकले जनाएको छ ।

थापाले नेपालको मौलिक खानाको स्वाद र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै सुदूरपश्चिमको सांस्कृतिक तथा पाक परम्परालाई विश्वसामु चिनाउन सफल भएका छन् । उनको उपलब्धिले नेपाली क्युलिनरी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउनुका साथै युवा पुस्तालाई परम्परागत खानाको संरक्षण र प्रवर्द्धनमा प्रेरणा मिल्ने विश्वास गरिएको छ।

कार्यक्रममा उत्कृष्ट योगदानका लागि लक्ष्मण थापालाई Certificate of World Recordप्रदान गरिएको छ । लक्ष्मण थापाको यो सफलताप्रति पुनर्वासवासी, सुदूरपश्चिमका नागरिक तथा नेपाली समुदायले गर्व व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन् ।