कञ्चनपुरको पुनर्वास नगरपालिकामा कृषि तथा पशु विकासमा आधारित “आत्मनिर्भर पुनर्वास कार्यक्रम” प्रभावकारी बन्दै गएको छ । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा निड्स नेपालको सहकार्यमा सञ्चालित यस कार्यक्रमले हालसम्म करिब दुई हजार घरधुरीको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ । ११ वटै वडामा ८० वटा महिला स्वावलम्बी समूह गठन गरी कृषि तथा पशुपालनलाई व्यवसायिक र आयआर्जनमुखी बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यही कार्यक्रमबाट जीवनमा नयाँ मोड ल्याएकी एक प्रतिनिधि पात्र हुन् पुनर्वास नगरपालिका–६, ङ गाउँकी सञ्जु गुरुङ ।

केही वर्ष अघिसम्म घरधन्दामै सीमित रहेकी सञ्जु आज सफल कृषक, उद्यमी तथा जागरण स्वावलम्बी महिला समूहकी अध्यक्ष बनेकी छन् । कार्यक्रम अन्तर्गत उनले प्रजनन योग्य बोका तथा सुधारिएको बाख्रा खोर निर्माणको सुविधा पाइन् । त्यससँगै आधारशिला तालिमले उनको सोच, आत्मविश्वास र काम गर्ने शैलीमा ठूलो परिवर्तन ल्यायो । अहिले उनी सानो किराना पसल सञ्चालन गर्नुका साथै बाख्रापालन, कुखुरापालन र खेतीपातीबाट राम्रो आम्दानी गरिरहेकी छन् । सञ्जुको दिन बिहानै बाख्राखोरको सरसफाइबाट सुरु हुन्छ । बाख्रालाई घाँसपात, पानी र दाना खुवाएर मात्र उनी अन्य काममा लाग्छिन् । घरायसी जिम्मेवारीमा परिवारका सबै सदस्यले सहयोग गर्ने भएकाले उनी व्यवसायमा थप समय दिन सक्षम भएकी छन् । “बाख्रा र कुखुरा मेरो आम्दानीको मुख्य आधार बनेका छ, सञ्जु भन्छिन् सानोतिनो खर्च कुखुरा बेचेरै चल्छ भने बाख्रा बिक्रीबाट ठूलो सहयोग हुन्छ” । यस वर्ष मात्रै उनले ६ वटा बाख्रा बिक्री गरिसकेकी छन् भने अहिले पनि ६ वटा बाख्रा खोरमा छन् । साथै, उनले २५–३० वटा कुखुरा पनि पालिरहेकी छन् । यही आम्दानी बाट दुई छोराछोरीको पढाइ, घरखर्च र अन्य आवश्यकताहरू सहज रूपमा पूरा भइरहेको छ, उनी भन्छीन्, आर्थिक आवश्यकताका लागि कसैसँग हात फैलाउनुपर्ने अवस्था अब छैन ।

वि.सं. २०८१ मा महिला समूहमा आबद्ध भएपछि सुरुमा समूहका चार जना सदस्यले बाख्रा प्राप्त गरेका थिए । हेफरको उपहार हस्तान्तरण अवधारणा अनुसार एक सदस्यले अर्को सदस्यलाई बाख्रा हस्तान्तरण गरिसकेका छन् । कसैले बोका, कसैले बाख्रा, कसैले सुधारिएको खोर निर्माण, टनेल तथा तरकारीका बीउबिजन र घाँसका बेर्ना जस्ता आवश्यक सहयोग पाएका छन् । सञ्जुको नेतृत्वमा रहेको समूह आर्थिक गतिविधिमा मात्र सीमित नभइ समूहले सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको छ । एक जना ज्येष्ठ महिलालाई ५ हजार रुपैयाँ नगद तथा खाद्यान्न सहयोग गरिएको छ भने सडक सरसफाइ लगायतका सामुदायिक अभियानमा पनि सक्रिय सहभागिता जनाइएको छ । समूहमा अहिले १७ जना सदस्य छन्, प्रत्येक सदस्यले मासिक १ सय रुपैयाँ बचत गर्ने व्यवस्था छ । संकलित रकमबाट आवश्यकता परेका सदस्यलाई एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइन्छ । अझै ३–४ जना सदस्यले उपहार स्वरूप बाख्रा प्राप्त गर्न बाँकी रहेकाले उनीहरूलाई पनि छिट्टै हस्तान्तरण गर्ने लक्ष्य समूहले राखेको छ ।

घरभित्र सीमित रहने गृहिणीबाट सफल कृषक र समूहको नेतृत्वकर्ता सम्मको यात्रा सम्झिँदै सञ्जु भन्छिन्, यस्ता कार्यक्रमले महिलालाई आत्मनिर्भर बन्ने अवसर दिन्छन् । हामीलाई आवश्यकता अनुसार सहयोग गर्ने पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालप्रति आभारी छौं । यद्यपि, उनले एउटा महत्वपूर्ण चुनौती पनि औंल्याएकी छन् त्यो हो किसानले उत्पादन गरेका तरकारी, बाख्रा र कुखुराले अझै उचित बजार र मूल्य पाउन सकेको छैन् । किसानमैत्री अनुदान, बजारीकरण र सहजीकरणका कार्यक्रम थप प्रभावकारी बने ग्रामीण महिलाको आयआर्जन अझै वृद्धि हुने उनको विश्वास छ । सञ्जु गुरुङको यात्रा एउटा व्यक्तिको मात्र सफलता होइन, सही अवसर, तालिम र सहकार्य पाए ग्रामीण महिलाले आत्मनिर्भर बनेर परिवार र समुदायको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण समेत हो । “आत्मनिर्भर पुनर्वास कार्यक्रम”ले यस्तै सयौं परिवारमा आशा, आत्मविश्वास र समृद्धिको नयाँ अध्याय लेखिरहेको छ ।