कैलालीको धनगढीस्थित जेपी क्लासिक इन्टरनेशनलले देशभरका डिलर मध्ये सबैभन्दा बढी कारोबार गर्दै प्रतिष्ठित ‘उत्कृष्ट डिलर अवार्ड’ लगातार दोस्रो वर्ष जित्न सफल भएको छ । यससँगै कम्पनीले राष्ट्रिय स्तरमा आफ्नो व्यावसायिक उत्कृष्टतालाई पुनः प्रमाणित गरेको छ । विराटनगरमा आयोजित पुर्वाञ्चल लुब्रीकेन्टको २७औँ डिलर कन्फ्रेन्समा कम्पनीका सञ्चालक हरिशंकर ठाकुर र उनकी धर्मपत्नी मधु पाठक ठाकुरलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा पुर्वाञ्चल लुब्रीकेन्टका सञ्चालक भोलेश्वर दुलाल तथा प्रमुख अतिथि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले संयुक्त रूपमा प्रमाणपत्र, मेडल तथा नगद २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

सम्मान ग्रहणपछि सञ्चालक ठाकुरले लगातार दोस्रो वर्ष प्राप्त भएको यो सम्मान कम्पनीसँग जोडिएका सम्पूर्ण ग्राहक, कर्मचारी, व्यावसायिक साझेदार तथा परिवार प्रतिको विश्वास र सहकार्यको प्रतिफल भएको बताए । उनले भने, “लगातार दोस्रो वर्ष देशकै उत्कृष्ट डिलरका रूपमा सम्मानित हुनु हाम्रो लागि अत्यन्त गौरवको विषय हो। यो अवार्ड मेरो एक्लो प्रयासको परिणाम होइन, सम्पूर्ण ग्राहक, कर्मचारी, व्यवसायिक साझेदार र परिवारको साथ तथा विश्वासको प्रतिफल हो। आगामी दिनमा पनि गुणस्तरीय सेवा, विश्वास र इमानदार व्यवसायमार्फत ग्राहकको भरोसा कायम राख्दै अझ उत्कृष्ट कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

धनगढी र काठमाडौंलाई केन्द्र बनाएर अटोमोबाइल व्यवसाय सञ्चालन गर्दै आएको ठाकुर समूहले खाद्यान्न, जडीबुटी लगायतका क्षेत्रमा पनि सफल व्यवसाय विस्तार गरेको छ। गुणस्तरीय सेवा, व्यावसायिक इमानदारी र ग्राहकमैत्री कार्यशैलीका कारण समूहले सुदूरपश्चिमको निजी क्षेत्रलाई राष्ट्रिय स्तरमा परिचित गराउन उल्लेखनीय योगदान दिँदै आएको छ।

लगातार दुई वर्षसम्म राष्ट्रिय स्तरको ‘उत्कृष्ट डिलर अवार्ड’ जित्न सफल भएपछि जेपी क्लासिक इन्टरनेशनलको प्रतिष्ठा थप उचाइमा पुगेको छ। कम्पनीको यो उपलब्धिलाई सुदूरपश्चिमको निजी क्षेत्रका लागि समेत गौरवको विषयका रूपमा हेरिएको छ।