कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बि.ओ.पी. दोधामा शनिबार सीमा सहजीकरण समितिको बैठक सम्पन्न भएको छ । पुनर्वास–१० का वडाध्यक्ष सुकदेब रानाको अध्यक्षतामा बसेको बैठकले सीमा सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा सम्बन्धित निकायबीच समन्वयलाई प्रभावकारी बनाउने विषयमा विभिन्न निर्णय गरेको विओपि दोधाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक महेन्द्र बमले जानकारी दिनुभयो । बैठकले प्रत्येक महिनामा एक पटक सीमा सहजीकरण समितिका जिम्मेवार पदाधिकारीको सहभागितामा सीमा क्षेत्रको संयुक्त अनुगमन तथा रेखदेख गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । साथै, सीमा क्षेत्रबाट हुने अवैध चोरी–निकासी, पैठारी तथा घरेलु प्रयोजनका लागि ल्याइने पाँच सय रुपैयाँभन्दा बढी मूल्यका सामानको पहिचान गरी सम्बन्धित निकायमार्फत व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, सीमा क्षेत्रमा सम्भावित विपद्का घटनालाई मध्यनजर गर्दै विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय विपद् स्वयंसेवक तथा युवालाई परिचालन गर्ने निर्णय गरिएको विओपि दोधाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । सीमा क्षेत्रमा कुनै पनि किसिमको घटना वा शंकास्पद गतिविधिको सूचना प्राप्त हुनासाथ सम्बन्धित निकायलाई तत्काल जानकारी गराउने निर्णय समेत गरीएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने तथा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयात्मक कार्यलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । सहभागीहरूले सीमा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।