कैलालीको गेटामा रहेको अस्थायी ट्राफिक प्रहरी बिटमा कार्यरत ट्राफिक प्रहरीहरूले दुःख दिएको भन्दै गुनासो बढेको छ कञ्चनपुरको बेलौरी देखि श्राद्ध गर्न गोदावरी हिँडेका एक परिवार सवार अटोमा ओभरलोड भन्दै रोकर चिट काटेको उनीहरूले बताएका छन् ।

हामी चार जना थियौँ, ड्राइभर एक जना, श्राद्धमा जानैपर्ने बाध्यता, टाढाबाट आउँदा समस्या हुने भयो भन्दै मिलेर चारजना बसेर आयौ, बेलौरी पुनर्वास धनगढी पुग्दा समेत आग्रह गर्दै गेटा पुगेको अवस्थामा ट्राफिक प्रहरीले हामीलाई रोकेर ओभरलोड ल्याएको भन्दै जरिवाना काटेको बेलौरी देखि गोदावरी श्राद्ध गर्न जानुभएको कर्णबहादुर महतराले बताउनुभयो ।

श्राद्ध गर्न गोदावरी गएका महतराले भने, हामी घुम्न पनि गएका होइनौं, रमाउन गएका पनि होइनौँ, रहरले पनि गएका होइनौं। त्यस्तो अवस्था थियो भने हामी आफै सहयोग गर्थ्यौं दुखको बेला पनि प्रहरीबाट भएको व्यवहारले अझ धेरै दुःखीत बनाएको उहाँले बताउनुभयो। बेलौरीबाट अटो लिएर गएका थियौँ। बेलौरीको अटो फेरिफेरि यो बाटो हिँड्दैन भन्ने मनाशयले चिट काटेको हुन सक्ने उहाँले बताउनुभयो ।

सामान्यतया एउटै परिवारको व्यक्तिलाई श्राद्धका लागि गोदावरी लैजानुपर्ने अवस्था थियो। परिवारका चारजना र म सहित पाँचजना थियौँ। तर आफूहरू श्राद्धका लागि जान लागेको हो भनेर भन्दा पनि ट्राफिक प्रहरीले धेरै बोले अझ धेरै जरिवाना काट्छु भन्दै जरिवाना काटेको सवारी चालक वेदमाया ढुङ्गानाले बताउनुभयो । ट्राफिक प्रहरीले, कागजात छ कि नाई भन्दै कागजात हेर्ने भनेर कागजात देखाउँदा देखाउँदै लगेर जरिवाना काटेको गुनासो गर्नुभयो ।

यस विषयमा गेटा ट्राफिक प्रहरी बिटका इन्चार्ज विष्णु धामीलाई बुझ्दा आफू सडकको अर्कोतर्फ रहेको र अर्को स्टाफले जरिवाना काटेको बताउनुभयो । श्राद्ध गर्न जान लागेको भनेर भन्दाभन्दै पनि किन त्यसरी जरिवाना काट्नुभयो भन्ने हाम्रो प्रश्नमा,  “जे हुनु भइसक्यो, आगामी दिनमा नगरौला,” भन्दै उहाँ पन्छिनुभयो।

यस विषयमा क्षेत्रय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक मनीराम भट्टसँग बुझ्दा विगतमा पनि आफूहरूले व्यवहारिकता हेर्दै आएको बताउनुभयो तर आजको घटना कसरी हुन पुग्यो त्यस विषयमा सम्बन्धित पोस्टमा बुझ्ने उहाँले बताउनुभयो । आइपर्दा गाह्रोसाह्रो पर्दा ट्राफिक प्रहरीले सहयोग गर्नुको सट्टा चिट किन काट्यो त भन्ने हाम्रो प्रश्नमा, “आफू बुझेर आवश्यक कारबाही गर्ने” उहाँले बताउनुभयो ।

कुनै पनि धार्मिक आस्थाका साथ श्राद्ध गर्न गएको परिवार (चारजना व्यक्ति ) सवार व्यक्तिलाई ओभरलोड भन्दै जरिवाना काट्नु कतिको उचित छ त ?

“प्रहरी मेरो साथी” अवधारणा बाट अघि बढेको नेपाल प्रहरीको यसतर्फ ध्यानाकर्षण भएको छ या छैन । दिनदहाडै सो सडक भएर हजारौं सवारीहरू आवतजावत गर्छन्। दैनिक पहाड जाने सवारीहरूमा लोड माथिको लोड लिएर गएको नदेख्ने बिटका ट्राफिक प्रहरीहरूले एकजना यात्रु बढी देख्नुलाई कुन रूपले लिन सकिन्छ ? यसतर्फ ध्यान जान जरुरी छ।