सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामी बीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–भारत बीचको पर्यटन, आतिथ्य सेवा तथा व्यावसायिक सहकार्यका विषयमा छलफल भएको छ । भेटका क्रममा सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष न्यौपानेले भारतको उत्तराखण्ड लगायत विभिन्न क्षेत्रबाट महेन्द्रनगर–बनबसा नाका हुँदै नेपाल भित्रिने भारतीय पर्यटकहरूका लागि सिद्धार्थ हस्पिटालिटी उत्कृष्ट र भरपर्दो विकल्प बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल आउने भारतीय पर्यटकलाई गुणस्तरीय होटल तथा आतिथ्य सेवा उपलब्ध गराउँदै उनीहरूको नेपाल बसाइलाई सहज, सुरक्षित र स्मरणीय बनाउन सिद्धार्थ हस्पिटालिटी प्रतिबद्ध रहेको बताउनुभयो। साथै, सीमावर्ती क्षेत्रमा पर्यटक आवागमनलाई थप व्यवस्थित गर्दै नेपाल–भारतबीच पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

भेटका क्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सिद्धार्थ बिजनेस ग्रुपले सञ्चालन गर्दै आएका सेवा तथा आतिथ्य क्षेत्रका गतिविधि प्रति विशेष चासो व्यक्त गर्नुभयो । मुख्यमन्त्री धामीले सिद्धार्थ ग्रुपका सेवा तथा व्यवसायलाई भारतमा समेत विस्तार गर्ने सम्भावना बारे रुचि देखाउनु भएको सिद्धार्थ बिजनेस ग्रुपका रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपानेले जानकारी दिनुभयो । 

नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन सीमावर्ती क्षेत्रको पर्यटन विकास र निजी क्षेत्रबीचको सहकार्य महत्वपूर्ण हुने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो ।

विशेषगरी उत्तराखण्डबाट नेपाल आउने पर्यटकका लागि महेन्द्रनगर–बनबसा नाका महत्वपूर्ण प्रवेश द्वारका रूपमा रहेको अवस्थामा यहाँको पर्यटन तथा आतिथ्य क्षेत्रलाई थप व्यवस्थित र पर्यटकमैत्री बनाउन सहकार्य आवश्यक रहेको दुबै पक्षले जोड दिएको छ ।

भेटवार्तामा सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने संगै रिजनल एक्जुकेटिभ डाइरेक्टर केशव न्यौपाने समेत सहभागी हुनुहुन्थ्यो। भेटलाई नेपाल–भारतबीच पर्यटन तथा आतिथ्य व्यवसायमा सहकार्य विस्तार गर्ने सम्भावनाका दृष्टिले महत्वपूर्ण भेटका रूपमा लिइएको छ।