कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ खैराडी टोलबाट बिना इजाजत उपचार तथा औषधि बिक्री वितरण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिना इजाजत बिरामीको उपचार गर्ने तथा औषधि बिक्री–वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा मंगलबार संयुक्त प्रहरी टोलीले खैराडी टोलस्थित एक घरमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र स्वास्थ्य कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले स्थानीय ४० वर्षीय गिता सेठीको घरमा खानतलासी गर्दा उपचारमा प्रयोग हुने विभिन्न औषधि तथा उपकरण बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद सामग्रीको अन्दाजी मूल्य ९९ हजार ४ सय ८५ रुपैयाँ रहेको छ । बरामद औषधि तथा उपचारमा प्रयोग हुने उपकरण सहित सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले बिना इजाजत स्वास्थ्य उपचार तथा औषधि बिक्री–वितरण गर्ने कार्य गैरकानुनी भएकाले यस्ता गतिविधि माथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।