कञ्चनपुरको पुनर्वासमा एक सय विपन्न परिवारलाई झुल वितरण गरीएको छ । हेल्पीङ हार्ट नेपाल र माछापुछ्रे महिला सचेतना केन्द्र पुनर्वासको सहकार्यमा पुनर्वास–४ का अतिगरिब विपन्न परिवारलाई झुल वितरण गरिएको हो । प्रदेश सभा सदस्य दिवानसिंह बिष्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । झुल वितरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्टले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सर्प, लामखुट्टे, विभिन्न किरा फटेंग्राहरुबाट जोगाउन र लामखुट्टे बाट लाग्ने विभिन्न रोगबाट बचाउनको लागि झुलको निकै नै महत्व रहेको बताउनुभयो । एकै चरणमा सबैलाई झुल वितरण गर्न नसके पनि दोस्रो चरणमा सबैलाई झुल उपलब्ध गराउन समेत उहाँले आयोजकलाई आग्रह गर्नुभयो ।

पुनर्वास नगरपालिका ४ का वडाध्यक्ष मनोज जैसीले आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो । वडाबाट गर्नुपर्ने कार्यक्रम यसरी संघसंस्थाले गरिदिँदा वडाबासीलाई धेरै नै राहत महसुस भएको उहाँले बताउनुभयो । स्थानीय स्तरमा अति गरिब विपन्न परिवार रहेको बताउँदै झुल वितरण गर्दा गर्मीयाममा हुनसक्ने सर्पदंश, लामखुट्टेको टोकाइबाट हुनसक्ने बिरामी बाट बच्न सहयोग पुग्नेमा उहाँको तर्क छ ।


माछापुछ्रे महिला सचेतना केन्द्र पुनर्वासको अध्यक्ष तथा नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सदस्य महिला नेत्री देवी लोहनीको पहलमा उक्त झुल वितरण गरिएको हो । गर्मियामको सुरुवातसँगै बढी गर्मी हुने र लामखुट्टेको जोखिमयुक्त क्षेत्र भएकाले पनि पहिलो चरणमा सो क्षेत्रका एक सय परिवारलाई झुल वितरण गरिएको लोहनीले बताउनुभयो। पहिलो चरणमा एक सय परिवारलाई झुल वितरण गरिए पनि दोस्रो चरणको कार्यक्रममा सबैलाई समेट्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

झुल पाएपछी विपन्न परिवारका सदस्यहरु खुशी भएका छन् । लामखुट्टेको टोकाइबाट लाग्न सक्ने विभिन्न रोगबाट बच्न केही राहत हुने उनीहरुको भनाइ छ । स्थानीय व्यक्ति, आयोजक संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार लगायतको सहभागितामा झुल वितरण गरिएको हो ।