कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आइबिआरडी स्थित कालिका हाट बजारमा शनिबार अनुगमन गरिएको छ । पुनर्वास नगरपालिकाका उपप्रमुख भुलीया कुमारी रानाको नेतृत्वमा भएको उक्त अनुगमन राजस्व परामर्श समितिको आयोजनामा भएको हो ।

अनुगमन टोलीले हाट बजार क्षेत्रका व्यापारीहरूसँग राजस्व संकलन, बजार व्यवस्थापन, सरसफाइको अवस्था र मूल्य सूची सम्बन्धी निरीक्षण गरेको थियो । उपप्रमुख रानाले बजारमा देखिएका केही समस्याहरु समाधान गर्न बजार ब्यवस्थापन समितीलाई निर्देशन दिनुभएको छ ।

हाटबजारमा स्टल निर्माण गरेको बताउदै सो स्टलहरुमा पसल सञ्चालन गर्न समेत व्यापारीहरूलाई निर्देशन दिनु भएको छ । साथै, उहाँले उपभोक्ताको हितलाई ध्यानमा राखेर नियमित बजार व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाँले हाटबजारमा स्थानीय उत्पादनलाई बिशेष ग्राह्यता दिन ब्यापारीहरुलाई आग्रह समेत गर्नुभयो ।

अनुगमनका क्रममा ब्यापारीहरुले फोहर ब्यवस्थापन, शौचालय ब्यवस्थापनलाई हाटबजार समितीले खासै ध्यान नदिएको गुनासो गरेका छन् । उनिहरुले बजार ब्यवस्थापनमा समस्या भएको बताउदै हाटबजारमा देखीएका समस्याहरु समाधान गर्न उपप्रमुख रानालाई आग्रह गरेका छन् । केहीले हाटबजार हप्तामा २ दिन चलाउन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा राजस्व परामर्श समितिका पदाधिकारीहरू, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सुरक्षाकर्मीहरु, पत्रकार र स्थानीय उपभोक्ताहरूको समेत सहभागिता रहेको थियो।