कञ्चनपुरको पुनर्वासमा ५० बर्ष मुनिका एकल महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको बेमौसमी तरकारी खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त तालिम सम्पन्न भएको छ । तालिममा सहभागी महिलाहरूलाई आधुनिक खेती प्रणाली, बाली संरक्षण, सिँचाइ व्यवस्थापन, मल र बीउको छनोट तथा बेमौसमी तरकारी उत्पादन सम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको शाखाले जनाएको छ। प्रशिक्षकहरूले जलवायु अनुकूल खेती प्रविधि, रोग र किरा व्यवस्थापनका उपायहरू तथा व्यावसायिक खेती विस्तारका सम्भावनाहरूमा समेत प्रशिक्षण दिएका थिए।

तालीम समापन समारोहमा बोल्दै पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन बेमौसमी तरकारी खेती तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहभागी महिलाहरूलाई सिकेका सीपहरू व्यवहारमा उतारी व्यावसायिक उत्पादन तर्फ अघि बढ्न आग्रह गर्नुभयो। तालिम समापन समारोहमा बोल्दै पुनर्वास-६ का वडाध्यक्ष मित्र सिंह लामाले पुनर्वास नगरपालिकाका एकल महिलाहरूलाई आधुनिक कृषि प्रणाली मार्फत आर्थिक सबलीकरण गर्ने अपेक्षा लिएको बताउनुभयो। त्यसैगरी, पुनर्वास–३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङले महिलाहरूलाई व्यावसायिक कृषि विकासका लागि सहकार्य र सामूहिक प्रयासमा जोड दिन आग्रह गर्नुभयो ।

धेरैजसो सहभागीहरूले पहिलो पटक बेमौसमी तरकारी खेतीसम्बन्धी व्यवस्थित र प्राविधिक ज्ञान प्राप्त गरेको बताएका छन् । उनीहरूले तालिममा सिकेका कुराहरू आफ्ना निजी तथा सामूहिक खेतिहरूमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख राना, वडाध्यक्ष तामाङ र लामा, महिला शाखाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। तालिममा ३३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरूलाई तरकारीका बिउ, पानी हाल्ने झाँझरी र आवश्यक औषधि छर्ने स्प्रे मेसिन समेत वितरण गरिएको थियो।